© २०२३
कैलाली ।
कैलाली कारागारमा एक कैदीको मृत्यु भएको घटनाले गम्भीर मोड लिएको छ। २८ वर्षीय हरिस सिंह पालीको मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथलाई पक्राउ गरिएको छ। घटनाबारे जानकारी दिँदै डिएसपी राजकुमार सिंहले सई नाथलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पुष्टि गरेका हुन्।
मृतक पालीकी श्रीमती जानकी साउँदले सई नाथविरुद्ध कारागारभित्र कुटपिट गराएर हत्या गराएको आरोप लगाउँदै किटानी जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा सईलाई हिरासतमा लिइएको हो। थप चाखलाग्दो पक्ष के छ भने, सई नाथ आफैँ पालीविरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दाका वादी समेत हुन्।
२०८० फागुनमा अदालतले पालीलाई १० दिन कैद र दुई लाख जरिवानाको फैसला सुनाएको थियो। फरार रहेका पालीलाई २९ जेठमा डडेल्धुराबाट पक्राउ गरिएपछि ३० गते धनगढी ल्याइएको थियो। अदालत बिदा परेकाले उनलाई असार १ गतेमात्र पेश गरी सोही दिन जिल्ला कारागार चलान गरिएको थियो।
कारागार चलान भएको भोलिपल्ट राति पाली बाथरुम नजिकै अचेत अवस्थामा फेला परेपछि अस्पताल लैजाँदा उनको मृत्यु भएको घोषणा गरिएको थियो। शरीरमा चोटपटक र निलडाम देखिएपछि परिवार र स्थानीयले घटनालाई शंकास्पद ठहर गर्दै निष्पक्ष छानबिनको माग गर्दै आएका थिए।
सई नाथ पक्राउ परेपछि पीडित परिवार शव बुझ्न तयार भएको छ। शव परीक्षण सेती प्रादेशिक अस्पतालमा सम्पन्न भएपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ।
घटनाको विरोधमा डडेल्धुरामा प्रदर्शनसमेत भएको थियो। चौतर्फी दबाबपछि जिल्ला प्रशासन कार्यालय, कैलालीले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको छ। अब घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाही हुने अपेक्षा गरिँदैछ।