© २०२३
काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) पछिल्लोपटक आफ्नो निर्णयबाट पछि हटेका छन्। जेठ १ गते उनले केही समितिका संयोजकहरूलाई हटाएर नयाँ व्यक्तिहरूलाई जिम्मेवारी दिएका थिए। सूचना प्रविधि समिति संयोजकबाट नवीन मानन्धर, सुशासन समितिबाट ख्यामराज तिवारी, र सम्पदा तथा पर्यटन समितिबाट आशामान संगतलाई हटाएर क्रमशः वीरेन्द्र प्रजापति, दलबहादुर कार्की र विनोदकुमार राजभण्डारीलाई नयाँ संयोजक तोकिएको थियो।
तर, मेयरको यो कदम विवादास्पद बन्यो। हटाइएका वडाध्यक्षहरूले निर्णयको विरोध गर्दै मेयरलाई चेतावनी दिए कि कार्यपालिकाको निर्णय विना एकल रूपमा जिम्मेवारी बाँडफाँड गर्नु गैरवैधानिक हो। त्यति मात्र होइन, नयाँ नियुक्त भएका वडाध्यक्षहरूले समेत उक्त पद अस्वीकार गरे। कार्यपालिकाबाट निर्णय अनुमोदन नभएको भन्दै उनीहरूले संयुक्त हस्ताक्षरसहित मेयर बालेनलाई पत्र लेखेर आफूहरूले जिम्मेवारी नलिने स्पष्ट पारे।
स्थिति यति बिग्रियो कि उपप्रमुख सुनिता डङ्गोलको अगुवाइमा कार्यपालिका र नगरसभा सदस्यहरूले अनौपचारिक बैठक गर्दै मेयरमाथि दबाब सिर्जना गरे। यसै दबाबपछि बालेनले केही निर्णय फिर्ता लिएका हुन्। हाल कार्यपालिकाको बैठकसमेत नियमित रूपमा बस्न नसकेको अवस्थामा महानगरको नेतृत्वमा समन्वय र सहकार्यको खाँचो देखिएको छ।