Butwal Today

यातायातका अधिकृत गौतमविरुद्ध भ्रष्टाचार मुद्दा दायर

३ असार २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

यातायात व्यवस्था कार्यालय, पर्साका अधिकृत कमलराज गौतममाथि अकुत सम्पत्ति आर्जनको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतमले २ करोड ५१ लाख ७८ हजार ६८७ रुपैयाँ ७१ पैसा गैरकानुनी रूपमा कमाएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

२०५५ साल वैशाख ७ गतेदेखि २०७९ चैत २४ गतेसम्म सार्वजनिक पदमा कार्यरत गौतमले सो अवधिमा २ करोड ८९ लाख २० हजार २६८ रुपैयाँ १८ पैसा वैध आय देखाएका थिए। तर, सम्पत्तिको विस्तृत अनुसन्धान गर्दा उनले सार्वजनिक पदको दुरुपयोग गरी स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर छ।

अख्तियारले गौतमले सो गैरकानुनी सम्पत्ति श्रीमती सरला नेपालको नाममा राखेको समेत जनाएको छ। सम्पत्ति विवरण लुकाउने कार्यमा संलग्न रहेको भन्दै सरला नेपाललाई पनि प्रतिवादी बनाइएक‍ो छ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाहीको माग गर्दै बिगो बराबरको दाबी गर्दै मुद्दा अघि बढाएको हो। अब यो मुद्दामा विशेष अदालतको निर्णयले सरकारी सेवामा भएका सम्पत्ति दुरुपयोगमाथि कडाइ हुने वा नहुने सन्देश दिन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?