काठमाडौँ ।
सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकबीच सिंहदरबारमा भेटवार्ता भएको छ। बैठकमा संसद् सहज र प्रभावकारी रूपमा सञ्चालन गर्न वातावरण बनाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

यस भेटमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको दुई बुँदे सहमति कार्यान्वयन, रास्वपाको माग लगायतका संवेदनशील विषयहरूमा कुरा भएको छ।
तर आज दिउँसो एक बजे बस्ने भनिएको संसद् बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन। कारण भनेको भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा माग्दै रास्वपाले संसद् भित्र नाराबाजी र प्रदर्शन गर्दै आएको हो।
सभामुखले बैठक सञ्चालन गरेपछि आलोचना पनि भएको छ। नेकपा माओवादी केन्द्रले पनि सुरुमा गृहमन्त्री लेखकको राजीनामा माग्दै संसद्मा विरोध जनाएको थियो।
तर पछि भिजिट भिसा सम्बन्धी अनियमितताको विषयमा छानबिन गर्न एक महिनाभित्र समिति गठन गर्ने सहमतिपछि माओवादी केन्द्रले अवरोध हटाउन तयार भएको थियो। यसबीच संसद्को वातावरण सहज बनाउन र संवेदनशील मुद्दामा सहमति जुटाउन थप प्रयास जारी रहने देखिन्छ।



