© २०२३
काठमाडौँ ।
डा. केशव श्रेष्ठले मंगलबार गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन्। उनी मन्त्रीको सरकारी निवास, भैँसेपाटी पुगेर भेटमा सहभागी भएका हुन्। भेटका क्रममा डा. श्रेष्ठले आफू कार्यरत क्षेत्रमा भोग्नुपरेको प्रशासनिक अन्याय, मनोवैज्ञानिक दबाब, र झुटा आरोपका कारणको पीडा गृहमन्त्रीसमक्ष व्यक्त गरेका थिए।
गृहमन्त्री लेखकले उनलाई जस्तोसुकै असहज परिस्थिति भए पनि आत्मबल मजबुत बनाएर अघि बढ्न सुझाव दिएका छन्। मन्त्रीको सचिवालयका अनुसार उनले डा. श्रेष्ठलाई आत्मबल घटाउन नदिइकन परिस्थिति सामना गर्न हौसला दिएका थिए।
डा. श्रेष्ठ सोमबार बिहानदेखि सम्पर्कविहीन भएका थिए। उनले फेसबुकमा ‘अलविदा’ लेख्दै एक प्रकारको आत्महत्या संकेत दिएका थिए, जसपछि प्रहरी सक्रिय भएको थियो। उनलाई बालाजु क्षेत्रबाट सकुशल फेला पारिएको थियो।
उनी स्वास्थ्य मन्त्रालयअन्तर्गत कार्यरत रहेका छन् र पछिल्ला दुई वर्षभन्दा बढी समय रामेछाप जिल्ला अस्पतालमा काम गरेका थिए। हालै जेठको अन्तिम साता हेटौँडा सरुवा गरिएपछि उनले आफूले लामो समय सेवा गरेको अस्पतालबाट अमानवीय व्यवहार भएको भन्दै फेसबुकमा गुनासो पोखेका थिए।यो घटनाले सरकारी स्वास्थ्य सेवाभित्रको प्रशासनिक चलनचल्ती, मनोवैज्ञानिक दबाब र पेशागत सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ।