© २०२३
अर्घाखाँची, ०३ असार।
भूमिकास्थान नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भूमिकास्थान–१, राजिमेमा क्षयरोगको जोखिम समूहमा सक्रिय क्षयरोगको खोज–पडतालसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । “म्यतक विधिबाट औषधी खुवाऔँ, क्षयरोग निको गराऔँ” भन्ने नारासहित आयोजित उक्त कार्यक्रममा आधारभूत स्वास्थ्य केन्द्र भूमिकास्थान–२ का इन्चार्ज श्याम चुदालीले क्षयरोग के हो? यसले कसरी आक्रमण गर्छ ? यसको रोकथामको उपाय ? यसको इतिहास लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
ढाकावाङ्ग स्वास्थ्य चौकी प्रमुख रन्जिता रायमाझी र लिसा बिकले सहजीकरण गरेको कार्यक्रममा भूमिकास्थान–१ का वडा अध्यक्ष गोपाल प्रसाद खनाल, वडा सदस्य चमकली सार्की, भूमिकास्थान युवा सञ्जालका संयोजक टेकराज भुसाल, स्थानीय टोल विकास समितिका प्रतिनिधिहरू, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीयको उपस्थिति रहेको थियो ।
स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले गरिएको यस कार्यक्रम मार्फत समुदायमा क्षयरोगको पहिचान, रोकथाम र उपचारको विषयमा महत्त्वपूर्ण जानकारी प्रदान गरिएको थियो भने भोली समुदायबाट खकार सङ्कलन गरी खकार जाँच समेत गरिने ढाकावाङ्ग स्वास्थ्य चौकी प्रमुख रायमाझीले जानकारी दिए । सहभागीहरूले कार्यक्रम निकै उपयोगी र प्रभावकारी भएको प्रतिक्रिया दिएका थिए ।