© २०२३
काठमाडौं।
पत्रकार दिलभूषण पाठकलाई विद्युतीय अपराध ऐनअन्तर्गत पक्राउ गर्न प्रहरीले प्रक्रिया अघि बढाएको पृष्ठभूमिमा उच्च अदालत, पाटनमा परेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदनमाथि सुनुवाइ सम्पन्न भएको छ। सोमबार न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासमा भएको सुनुवाइपछि आदेश आउन बाँकी रहेको अदालत स्रोतले जनाएको छ।
हिल्टन होटलसम्बन्धी एक भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई जोडिएको विषयले विवाद निम्त्याएपछि पाठकमाथि साइबर ब्यूरोमा उजुरी दर्ता भएको थियो। उजुरीपछि प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालत, काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो। सो आदेशविरुद्ध पाठकको तर्फबाट अदालतमा निवेदन दिइएको हो।
निवेदनमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र साइबर ब्यूरोलाई विपक्षी बनाइएको छ। समाचार सामग्रीको विषय प्रेस काउन्सिल वा सम्बन्धित नियामक निकायमार्फत समाधान हुनुपर्नेमा, विद्युतीय अपराधको बहानामा बदनियतपूर्ण रूपमा कानुनी प्रक्रिया अघि बढाइएको दाबी निवेदनमा गरिएको छ।
यसबीचमा पत्रकार पाठक सम्पर्कविहीन छन्। प्रहरी उनको खोजीमा सक्रिय रहेको बताइएको छ। यता, पत्रकारहरू र सम्पादकहरूले पाठकविरुद्धको प्रहरी कारबाहीप्रति विरोध जनाउँदै प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सवाल उठाएका छन्। शनिबार सम्पादकहरूमार्फत एक विज्ञप्ति जारी गर्दै प्रेसमाथि अंकुश लगाउने प्रयासको विरोध गरिएको थियो।