© २०२३
काठमाडौं।
प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफल जारी भइरहँदा नाराबाजी, नियमापत्ति र सांसदबीचको तीव्र तनाव देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूको नाराबाजीका बीच नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले संसद्को मर्यादा प्रश्न उठाउँदै नियमावली २० को उल्लंघन भएको भन्दै आपत्ति जनाए।
थापाले धारणा राख्ने क्रममा व्यङ्ग्य गर्दै संसदको अवस्था र कक्षको अनुशासनप्रति असन्तुष्टि व्यक्त गरे। उनले भने, “हामी रत्नपार्कमा छौं कि शहीद गेटमा, कलंकी कि पोखरा चिप्लेढुंगा—म बुझ्न सकिनँ।” उनले रास्वपा सांसदहरूको नाराबाजीतर्फ संकेत गर्दै कुर्सीले सांसद भेट्न नसकेको टिप्पणी गरे।
नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेत बोलिरहेका बेला थापा उठेर बोल्दा रास्वपा सांसदहरूले फेरि नाराबाजी सुरु गरे। तर सभामुख देवराज घिमिरेले थापाको कुरा सुनीसकेपछि बस्न अनुरोध गरे र बस्नेतलाई पुनः धारणा राख्न आग्रह गरे।
रास्वपा सांसदहरू त्यसपछि चुप लागे भने, राप्रपाका सांसदहरू बैठक बहिष्कार गर्दै बाहिरिएका छन्। यद्यपि संसद बैठक भने बजेटमाथिको छलफलसहित जारी छ। संसदमा हालको वातावरण अस्थिर देखिए पनि औपचारिक प्रक्रिया अगाडि बढिरहेको छ।