© २०२३
काठमाडौँ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको भिजिट भिसा सेटिङ प्रकरणलाई लिएर प्रतिनिधिसभामा देखिएको विरोधले संसदमा अवरोध सिर्जना गरिरहेकै अवस्थामा सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल थालेका छन्।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका महेश बर्तौला, माओवादी केन्द्रका हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई छलफलमा सहभागी गराइएको छ। छलफलमा उपसभामुख इन्दिरा रानामगरको पनि उपस्थिति रहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै, साथै घटनाको छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग गठन हुनुपर्ने अडानसहित सदन अवरुद्ध गर्दै आएका छन्। सोही विरोधका बीच सभामुख घिमिरेले शुक्रबार र आइतबार सदन सञ्चालन गरे पनि विवाद साम्य हुन सकेको छैन।
यस विषयमा सहमति जुटाउने प्रयासस्वरूप भइरहेको छलफलले संसदको अवरुद्ध अवस्था हटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।