Butwal Today

ढल निर्माण ठेक्कामा अनियमितता : पूर्वप्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२८ जेष्ठ २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

काठमाडौं महानगरपालिकामा भएको भनिएको ढल निर्माण ठेक्कासम्बन्धी भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। बुधबार दायर गरिएको आरोपपत्रमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियार मुख्य प्रतिवादीका रूपमा उल्लेख छन्।

आयोगले सार्वजनिक सम्पत्तिमा हानि पुर्‍याएको भन्दै परियारसहित रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गरेको हो।

अनुसन्धानका क्रममा सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरा–म्हेपी खण्डमा ढल निर्माणको ठेक्कामा अनियमितता भएको आयोगको दाबी छ। ठेक्काका लागि सबैभन्दा कम दर कबोल गर्ने समानान्तर सेवा प्रालिलाई अयोग्य ठहर गर्दै मिलेमतोमा दोस्रो कम दर प्रस्तुत गर्ने कल्पवृक्ष–कोहिनुर जेभीसँग सम्झौता गरिएको पाइएको हो। यसरी ठेक्का प्रक्रियामा हस्तक्षेप गर्दा काठमाडौँ महानगरलाई करिब ४ करोड ३१ लाख रुपैयाँभन्दा बढीको हानि पुगेको आयोगले जनाएको छ।

अख्तियारले सोही रकम बराबरको बिगो कायम गर्दै मुद्दा दायर गरेको छ। सबै प्रतिवादीलाई बिगो असुल गर्ने मागसहित कैद र जरिवानाको सजाय दिन विशेष अदालतसमक्ष अनुरोध गरिएको छ। आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाका अनुसार, भ्रष्टाचारका यस्तो प्रकृतिका प्रकरणमा कानुनी कठोरता आवश्यक रहेको उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?