© २०२३
काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी विचारधारामा आधारित विभिन्न धारहरूलाई फेरि एकताबद्ध गर्ने प्रयास तीव्र भइरहेको बताएका छन्। मंगलबार खुमलटारमा आयोजित एक पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले नेकपा एकीकृत समाजवादी (माधव कुमार नेपाल नेतृत्व) र नेकपा (विप्लव नेतृत्व)सँग पार्टी एकताको विषयमा छलफल चलिरहेको खुलासा गरे।
प्रचण्डले केही दिनअघि दुईवटा दलसँग एकता तथा समायोजन भएको स्मरण गराउँदै अहिले थप दलहरूसँग पनि संवाद चलिरहेको बताए। उनका अनुसार समाजवादी मोर्चामा रहेका दलहरूबीचको सहकार्यलाई थप सुदृढ गर्दै पार्टी एकता सम्भावनाबारे गम्भीर छलफल भइरहेको छ।
उनले वर्तमान राजनीतिक परिस्थितिमा माओवादी केन्द्र जनताबीच पुनः विश्वास कायम गर्दै अघि बढिरहेको पनि दाबी गरे। विगतका गल्ती तथा कमजोरीहरूप्रति आत्मसमिक्षा गर्दै पार्टीले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजाने योजना अन्तर्गत जनसंघर्षलाई पुनः तिव्रता दिएको उल्लेख गरे।
पार्टी प्रवेश अभियान अन्तर्गत मुलुकभर माओवादीको पक्षमा जनमत बढ्दै गएको प्रचण्डको भनाइ थियो। विशेषगरी हुलाकी राजमार्ग केन्द्रित अभियानको क्रममा आठदेखि दश हजार मानिस माओवादी केन्द्रमा प्रवेश गरेको तथ्यांक प्रस्तुत गर्दै उनले यो माओवादीप्रति देखिएको जनतामा सकारात्मक भावनाको संकेत भएको बताए।
उनले आगामी निर्वाचनमा माओवादीलाई पहिलो शक्ति बनाउने ध्रुविकरणको तयारीमा केन्द्रित रहेको समेत बताए। जनमत बटुल्ने र संगठन विस्तारलाई उद्देश्य बनाएर पार्टीले विशेष योजना अनुरूप काम गरिरहेको उनको भनाइ थियो।