© २०२३
भैरहवा, २५ जेठ ।
युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज (युसीएमएस) शिक्षण अस्पताल, भैरहवामा एकदिने ‘शल्यक्रिया कक्षमा बिरामीको सुरक्षा वृद्धि ः डब्लु.एच.ओ. शल्यक्रिया सेफ्टी चेकलिष्ट’ विषयक कार्यशाला सम्पन्न भएको छ । शल्यक्रिया विभाग तथा एनेस्थेसिया विभागको संयुक्त आयोजनामा उक्त कार्यशाला भएको हो ।
विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको शल्यक्रिया सेफ्टी चेकलिष्ट अनुरुप प्रशिक्षार्थीहरुलाई मास्टर कक्षासहित स्किल ल्याबमा प्रयोगात्मक रुपमा म्यानिकुइनमा सिकाइएको थियो । कार्यक्रमको कोर्स डाइरेक्टरको रुपमा युसीएमएसका प्राचार्य तथा एनेस्थेसिया विभाग प्रमुख प्रा.डा.लक्ष्मी पाठक तथा शल्यक्रिया विभागका प्रमुख प्रा.डा.सन्तोष शाह थिए।
कार्यक्रममा शल्यक्रिया विशेषज्ञ डा.सगुन थापा क्षेत्री तथा एनेस्थेसिया विशेषज्ञ डा.केशव अधिकारीले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।
शल्यक्रिया कक्षमा संयोगवश शल्यक्रिया गर्ने बिरामीहरुको नाउँ मिल्न जानु, शरीरको एउटा अंगको शल्यक्रिया गर्नुपर्नेमा अर्को अंगको हुनु, स्पोन्ज जस्ता कपडाका टुक्राहरु शरीरभित्रै छुट्न जानु, औषधीको रियाक्सन र एक्सपाइरी मिति हेर्न बिर्सनु जस्ता ‘मेडिकल त्रुटिहरु’ हुन नदिनु नै कार्यशालाको उद्देश्य रहेको प्राचार्य प्रा.डा. लक्ष्मी पाठकले बताइन् ।

कार्यशालामा डा.सगुन थापा क्षेत्री, डा.केशव अधिकारी, शल्यक्रिया विभागका आवासीय चिकित्सक डा.विशाल कुँवर, नर्सिङ्ग कर्मचारी प्रतिक्षा घर्ती मगरले सिमुलेसन गरी सहभागीहरुलाई तालिम दिएका थिए ।
कार्यक्रममा युसीएमएसको आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, पोष्ट अपरेटिभ, रिकभरी तथा अन्य वार्डहरुमा कार्यरत नर्सिङ्ग कर्मचारी, आवासीय चिकित्सक तथा मेडिकल अधिकृतहरु गरी ४५ जनाको सहभागीता थियो।