Butwal Today

नेपालमा पहिलोपटक सफल ट्रान्सजेन्डर लिंग परिवर्तन शल्यक्रिया सम्पन्न

२५ जेष्ठ २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

नेपालमा पहिलोपटक ट्रान्सजेन्डर व्यक्तिको लिंग परिवर्तन (सेक्स चेन्ज) शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आइतबार पत्रकार सम्मेलनमार्फत यो उपलब्धिको घोषणा गर्दै, देशमै पहिलो पटक ‘मेल टु फिमेल’ सेक्स चेन्ज अपरेसन सम्पन्न भएको जानकारी दिएको हो।

जनकपुरकी २५ वर्षीया ट्रान्सजेन्डर व्यक्तिमा गरिएको उक्त शल्यक्रियामा पुरुष जननेन्द्रियको तन्तु प्रयोग गरी महिला जननेन्द्रियको पुनर्निर्माण गरिएको अस्पतालले जनाएको छ। यस प्रक्रियाबाट सम्बन्धित व्यक्तिले आफूले चाहेको लैंगिक पहिचान प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

शिक्षण अस्पतालको प्लास्टिक सर्जरी विभागले जेठ १२ देखि १५ गतेसम्म ट्रान्सजेन्डर समुदायलाई लक्षित गर्दै विभिन्न प्रकारका शल्यक्रिया सञ्चालन गरेको थियो। सोही क्रममा पहिलोपटक नेपालमै ट्रान्सजेन्डर व्यक्तिको सेक्स चेन्ज अपरेसन पनि सफलतापूर्वक सम्पन्न भएको हो।

यो कदमले नेपालको चिकित्सा क्षेत्रको प्राविधिक क्षमतामा नयाँ अध्याय थप्नुका साथै लैंगिक विविधता र ट्रान्सजेन्डर अधिकारप्रतिको सामाजिक चेतनामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?