Butwal Today

औषधी व्यवसायीको गुनासोः अवैध व्यापार र घुमन्ते पसलले मारमा प-यौं

२३ जेष्ठ २०८२, शुक्रबार
अ+
अ-

बुटवल, २३ जेठ ।

औषधी व्यवसायीहरुले खुला सीमानाका कारण हुने अवैध आयात, बिना दर्ता पसल सञ्चालन तथा घुमन्ते र झोलामा औषधी विक्रीले मर्कामा परेको गुनासो गरेका छन् । नेपाल औषधि व्यवसायी संघ रुपन्देहीले शुक्रबार बुटवलमा सञ्चारकर्मीहरुसँग आयोजना गरेको स्वास्थ्य सञ्चार कार्यक्रममा सहभागी व्यवसायीहरुले सरकारले नीतिगत सुधार र व्यवसायीहरुलाई गर्ने व्यवहारमा सुधार गर्नुपर्नेमा जोड दिए ।

एलोपेथिक र आयुर्वेदिक औषधीहरु एउटै पसलबाट बेच्न नपाउने नीतिगत व्यवस्था र औषधीजन्य सामग्रीमा भ्याट लाग्ने तर औषधीमा भ्याट नलाग्ने व्यवस्थाले व्यवसायीहरु मारमा परेको उनीहरुको भनाई छ । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणि ज्ञवालीले आम नागरिकको उपचारमा औषधी उत्पादक, डिलर, थोकखुद्रा विक्रेता, चिकित्सक सबैको आआफ्नो भूमिका र महत्व रहेको बताए । स्वास्थ्य कार्यालयले औषधी पसलहरुको नियमित अनुगमनमा सहजिकरण गर्दै आएको उनले बताए । गलत काम गर्ने व्यवसायीहरुलाई कारवाहीका लागि सिफारीस गर्दै आएको बताउँदै उनले जनस्वास्थ्यलाई सुधार गर्नका लागि सहकार्य गर्न तयार रहेको धारणा राखे ।

कार्यक्रममा औषधी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष खड्गबहादुर बस्नेतले औषधी व्यवसायलाई व्यवस्थित बनाउन जरुरी रहेको बताए । व्यवसायीहरुले एमआरपी भन्दा बढी मूल्यमा र म्याद नाघेका औषधी बिक्री गर्न नहुने उनले बताए । कार्यक्रममा औषधी व्यवसायी संघ रुपन्देहीका संस्थापक अध्यक्ष सुरज भट्टराईले पत्रकारहरुले राखेका जिज्ञासाहरुको जवाफ दिँदै उपभोक्तामैत्री सेवा प्रदान गर्दै आएको बताए ।

औषधी व्यवसायी संघ रुपन्देहीका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक केदार नेपालले संघले वार्षिक रुपमा गर्दै आएका विभिन्न कार्यक्रमहरुबारे जानकारी गराएका थिए । यस्तै कार्यक्रममा औषधी व्यवसायी संघका पूर्व केन्द्रीय अध्यक्ष तथा रुपन्देहीका विशेष सल्लाहकार बाबुराम भट्टराई, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेलगायतले आआफ्नो भनाइ राखेका थिए । रुपन्देहीमा औषधी व्यवस्था विभागमा दर्ता भएका खुद्रा व्यवसायीहरुको संख्या १ हजार ३४५ रहेको छ । जसमा एलोपेथिक १ हजार ९२, आयुर्वेदिक १०५, होमियोप्याथी ३० र भेटेनरी ११८ रहेका छन् भने संघमा सदस्यता लिएका करिब १ हजार १ सय रहेका छन् । गत वैशाख मसान्तसम्म ७८५ वटा नवीकरण भइसकेका छन् ।

यस्तै विभागमा दर्ता भएका थोक औषधी व्यवसायस्हरुको संख्या २९८ रहेको छ । जसमा एलोपेथिक २५३, आयुर्वेदिक १८, होमियोप्याथी २, युनानी १ र भेटेनरी २४ रहेका छन् भने संघमा सदस्यता लिएका करिब २ सय रहेका छन् । गत वैशाख मसान्तसम्म १६३ नवीकरण भइसकेका छन् । संघले गरेको आन्तरिक सर्वेक्षण अनुसार रुपन्देहीमा ५६० वटा औषधी पसल औषधि व्यवस्था विभागमा दर्ता नभएको पाइएको छ । औषधी व्यवसायी संघ रुपन्देहीका महासचिव कृष्ण पोखरेलले पनि व्यवसायीका समस्याबारे आफ्ना धारणा राखेका थिए ।