© 2026
काठमाडौँ ।
संसद्मा जारी गतिरोध हटाउन प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग वार्ता गर्ने तयारी गरेका छन्।
शुक्रबार बानेश्वरस्थित संसद् भवनमा पत्रकारहरूसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद सञ्चालनको मार्ग खोल्न विपक्षीहरू देउवासँग संवादमा उत्रन लागिएको जानकारी दिए।
उनका अनुसार संसद् अवरुद्ध गर्ने मुख्य मुद्दा छानबिन नै हो, र सरकारबाट भरपर्दो प्रतिबद्धता आएमा विषयलाई सकारात्मक रूपमा लिन सकिने विपक्षी धारणा रहेको छ।
‘छानबिन मुख्य कुरा हो,’ प्रचण्डले भने, ‘सरकारबाट भरपर्दो प्रतिबद्धता आयो भने यो विषयलाई सकारात्मक ढंगले लिन सकिन्छ भन्ने प्रतिपक्षहरूको कुरा भयो।’
उनले थपे, ‘प्रतिपक्षको तर्फबाट नेपाली कांग्रेसका सभापतिसँग कुरा गर्न उचित हुन्छ अहिलेका राजनीतिक विषयलगायत समसामयिक राजनीतिक विषयमा भन्ने भयो।’
साथै, आज शुक्रबारका लागि संसद् बैठक सूचना टाँसेर स्थगित गरिने सत्तापक्ष र विपक्षीबीचको समझदारी पनि भएको उनले बताए। प्रचण्डको भनाइमा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, ज्ञानेन्द्र कार्की र श्याम घिमिरेसँग भएको संवादपछि आज सदन नचलाउने निर्णय भएको हो।
उनले आशा व्यक्त गरे, “मलाई लाग्छ, एक-दुई दिनभित्र यो विषयमा सकारात्मक ल्यान्डिङ हुन्छ।”