काठमाडौँ ।
नेपाली कांग्रेसले संविधान र गणतन्त्रको पक्षमा आमसभा गर्ने निर्णय गरेको छ। पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकबाट यस्तो निर्णय भएको संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिएका छन्।उनका अनुसार, “संविधानको पक्षमा सभा गर्ने भन्ने सहमति भएको छ, तर मिति र स्थान भने आगामी बैठकले तय गर्नेछ।”

जेठ १५ गते गणतन्त्र दिवसको दिन नेकपा एमालेले काठमाडौँमा झाँकीसहित र्याली निकालेको थियो। सोही दिनदेखि राजतन्त्रको पक्षमा उभिएका समूहहरू पनि गणतन्त्रविरोधी प्रदर्शन गरिरहेका छन्।
यस्तो परिस्थितिमा सत्ता साझेदार प्रमुख दल कांग्रेसले संविधान र गणतन्त्रको समर्थनमा आमसभा गर्न लागेको हो। यो सभा हालको राजनीतिक सन्दर्भमा सशक्त सन्देशको रूपमा हेरिएको छ।



