© २०२३
काठमाडौं, १८ जेठ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदै गरेको मनसुनले सम्भावित जनधनको क्षति रोक्न तत्काल तयारी गर्न सरकारलाई आग्रह गरेका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित ‘वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद कार्यक्रम’लाई सम्बोधन गर्दै देउवाले वर्षा, तापक्रम, बाढी, पहिरो र संक्रामक रोगहरूका सम्भावित प्रभावबारे चेतावनी दिए।
“मनसुन सुरु हुन लागेको छ, यस पटक बढी वर्षा र बढी तापक्रमको प्रक्षेपण छ,” उनले भने, “यसबाट बाढी, पहिरो, डुबान र संक्रामक रोगहरूको जोखिम उच्च छ। त्यसैले पूर्वसतर्कता, सतर्कता र तयारीका लागि सरकारले अहिलेबाटै ठोस कदम चाल्नुपर्छ।”
देउवाले विकास संरचना निर्माणका क्रममा वातावरणीय पक्ष उपेक्षा गर्दा क्षति अझै बढेको बताए। “अब हामीलाई चाहिएको सामान्य विकास निर्माण होइन, दिगो विकास हो। स्वच्छ र सुरक्षित नेपाल आगामी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो,” उनले जोड दिए।
जलवायु परिवर्तनले नेपालको कृषि, पर्यटन, जलविद्युत् जस्ता आर्थिक आधारहरूमा गम्भीर असर पारेको भन्दै देउवाले यसको असरले सामाजिक तथा आर्थिक विभेद पनि बढाएको टिप्पणी गरे। “जलवायु संकटले अर्थतन्त्रमा जोखिम थपिएको छ,” उनले भने, “यसको सामना गर्न बहुआयामिक नीति र दीर्घकालीन रणनीति आवश्यक छ।” कार्यक्रममा वातावरण विज्ञहरूले समेत जलवायु संकटका प्रभावबारे धारणा राख्दै पूर्वतयारीको खाँचो औँल्याएका थिए।