जितपुर, १७ जेठ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ मा रहेको गौतमबुद्ध आधारभूत विद्यालय कुसुमडाँडा विद्यार्थी विहीन हुने अवस्थामा पुगेको छ । विद्यालयमा यस शैक्षिक सत्रमा एक जना पनि नयाँ विद्यार्थी भर्ना भएनन् । कुनै समय ४–५ सय विद्यार्थीले भरिभराउ हुने यो विद्यालयमा अहिले १७ देखि २० जना मात्रै विद्यार्थी छन् ।
प्रधानाध्यापक बलराम आचार्यका अनुसार, विगत केही वर्षयता विद्यार्थी भर्नाको दर घट्दो क्रममा थियो । तर, यो वर्ष नयाँ भर्ना पूर्ण रूपमा शून्यमा झरेपछि विद्यालय बन्द हुने सङ्कटमा पुगेको छ । विद्यालयमा नयाँ विद्यार्थी भर्ना नहुने र माथिल्लो कक्षा उत्तीर्ण गरी अन्यत्र जाने विद्यार्थीको सङ्ख्या पनि घटेका कारण विद्यालयमा विद्यार्थी कम भएको बताए । विद्यालयमा कक्षा १ देखि ५ सम्म मात्रै सञ्चालनमा छ । ती कक्षामा ४ देखि ६ जना विद्यार्थी मात्रै छन् । तीन शिक्षक स्थायी रूपमा कार्यरत भए पनि विद्यार्थीको कमीका कारण शैक्षिक गतिविधि प्रभावित हुन थालेको छ ।
प्रधानाध्यापक आचार्य भन्छन्, “समुदाय ठुलो भए पनि अभिभावक र वडा स्तरीय नेतृत्वले विद्यालयको विकासमा चासो देखाएका छैनन् । यही बेवास्ता अहिलेको सङ्कटको मुख्य कारण हो । अभिभावकहरूले आफ्ना बालबालिकालाई निजी वा अन्य सामुदायिक विद्यालयमा पढाउन थालेपछि हाम्रो विद्यालयमा विद्यार्थी आउनै छाडे ।”
स्थानीय समाजसेवी र वडाका जनप्रतिनिधिहरूको उदासीनता र विद्यालय व्यवस्थापनप्रति कमजोर निगरानीका कारण विद्यालयको अवस्था जटिल बन्दै गएको छ । प्रधानाध्यापक आचार्यका अनुसार, “समुदायको साथबिना विद्यालयले अस्तित्व जोगाउन सकिँदैन । हामीले धेरै पटक अपिल ग¥यौं, तर कुनै ठोस प्रतिक्रिया आएन ।” २०४३ सालमा स्थापना भएको यो विद्यालय अहिले विद्यार्थी कम हुँदै गएपछि अस्तित्व सङ्कटमा परेको छ ।