काठमाडौँ ।
गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध उठाइएका आरोपहरूको जवाफ संसद्मै दिने या आवश्यकता परे संसद् बाहिर पत्रकार सम्मेलन गरेर दिने तयारी गरेका छन्।

उनका सचिवालय सदस्य लोकेन्द्र भट्टका अनुसार, यदि विपक्षी दलले संसद् अवरोध जारी राखे, मन्त्री लेखकले पत्रकार सम्मेलनमार्फत प्रतिक्रिया सार्वजनिक गर्ने छन्। “विपक्षीको अवरोध जारी रहे उहाँले पत्रकार सम्मेलन गरेर आफ्नो कुरा राख्नुहुन्छ, नत्र संसद्मै जवाफ दिनुहुन्छ,” भट्टले जानकारी दिए।
हाल लेखकविरुद्ध भिजिट भिसा प्रकरण र आन्तरिक सुरक्षा व्यवस्थापनमा चासोका विषय उठेका छन्। यिनै विषयलाई लिएर संसद् अवरुद्ध भइरहेका बेला मन्त्रीको यस्तो तयारी सार्वजनिक भएको हो। अब संसद् सुचारु हुने वा पत्रकार सम्मेलनमार्फत लेखकले प्रत्यक्ष जवाफ दिने भन्ने प्रष्ट हुन बाँकी छ।



