काठमाडौँ — विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२ औँ बैठकले बुधवार २०८२ सालको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित गरेको छ। सिंहदरबारमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले यो कार्ययोजना अनुमोदन गरेको हो।
प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार कार्ययोजनामा सम्बन्धित निकायहरूको पूर्वतयारी योजना, आपत्कालीन सम्पर्क विवरण, सामग्रीको मौज्दात, तथा आवश्यक दक्ष जनशक्तिको विवरण समावेश गरिएको छ।

यस वर्षको मनसुनका बेला सम्भावित जोखिमको पूर्वानुमान गर्दै सरकारले १९ लाख ९७ हजार ७३१ जनसंख्या प्रभावित हुने र ४ लाख ५७ हजार १४५ घरधुरीमा असर पर्न सक्ने उल्लेख गरेको छ। विशेष रूपमा चोभार गल्छीको साँघुरो भागका कारण काठमाडौँ उपत्यकामा बाढीको उच्च जोखिम रहेको भन्दै सेनाको सहयोगमा सो अवरोध हटाउने निर्णय पनि गरिएको छ।
कार्ययोजना अनुसार अब विभिन्न सरकारी तथा सुरक्षा निकायहरूले आपतकालीन तयारी, उद्धार र राहत व्यवस्थापनमा तालमेल गरी काम गर्नेछन्।



