© २०२३
काठमाडौँ — न्युजिल्याण्डका उपप्रधान तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपाल भ्रमणमा आज काठमाडौँ आइपुगेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार जेठ १४ र १५ गते दुई दिनसम्म उनी नेपालमै रहनेछन्। न्युजिल्याण्डबाट उच्च राजनीतिक तहको यो पहिलो भ्रमण हो, जसले दुई देशबीचको कूटनीतिक सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
पिटर्सले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। यस्तै, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग द्वारिका होटलमा द्विपक्षीय वार्ता हुने बताइएको छ।
बिहीबार पिटर्स लुक्ला भ्रमण गर्ने छन् र त्यसपछि काठमाडौँका विश्व सम्पदा क्षेत्रहरूको अवलोकन भ्रमण गर्ने तालिका रहेको छ। त्यही साँझ उनी भारतको दिल्ली प्रस्थान गर्नेछन्।
नेपाल र न्युजिल्याण्डबीच पछिल्ला वर्षहरूमा उच्चस्तरीय भ्रमण आदानप्रदान भइरहेको छ। सन् १९५३ मा तेन्जिङ शेर्पा र एडमन्ड हिलारीको सगरमाथा आरोहणदेखि लिएर, न्युजिल्याण्डले २०७२ को भूकम्पपछिको राहतमा पुर्याएको सहयोग, शिक्षा–स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोग, र नेपालमा अध्ययनरत करिब डेढ हजार नेपाली विद्यार्थीमार्फत दुई देशबीचको सम्बन्ध निरन्तर प्रगाढ बन्दै गएको देखिन्छ।
हाल नेपालमा न्युजिल्याण्डको स्थायी दूतावास छैन। भारतको दिल्लीस्थित दूतावासले नै नेपाल हेर्दै आएको छ। यद्यपि, हालको भ्रमणले राजनीतिक, शैक्षिक र पर्यटनलगायत विविध क्षेत्रमा सम्बन्ध थप विस्तार हुने अपेक्षा गरिएको छ।