© २०२३
काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पार्टीका तर्फबाट संसद् र समितिमा जिम्मेवारी पाएका सांसदहरूको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) हटाइएको बताएका छन्।
उनले सरकारको यो निर्णयप्रति आपत्ति जनाउँदै यो विभेदपूर्ण भएको टिप्पणी गरेका छन्। “हामी जनताका मान्छे हौँ, जनतामै सुरक्षित छौँ। तर राप्रपामात्रको पीएसओ हटाउनु निन्दनीय हो,” शाहीले भने।
उनका अनुसार संसदका दलका प्रमुख सचेतक र समितिका सभापतिहरूलाई विगतमा एक/एक जना पीएसओ उपलब्ध गराउने व्यवस्था थियो। तर अहिले गृहमन्त्रालयको निर्णय अनुसार राप्रपाका प्रमुख सचेतक शाही र समितिका सभापति दीपक सिंहको सुरक्षाकर्मी हटाइएको छ।
शाहीले यस्तो निर्णय सबै दलका लागि समान रूपमा लागू हुनुपर्ने धारणा राख्दै विभेदपूर्ण व्यवहारको विरोध गरे। “हाम्रो खोस्ने, अरूको राख्ने भन्ने कुरा स्वीकार्य हुँदैन,” उनले भने। जब उनलाई यो निर्णय पछाडि राप्रपाको राजावादी आन्दोलनसँग सम्बन्ध छ कि भन्नेबारे प्रश्न गरियो, उनले छोटो जवाफ दिए: “सायद केही होला।”