Butwal Today

इच्छुक क्रान्तिकारी नेताका रूपमा पनि स्मरणीय छन्–सभामुख  

१४ जेष्ठ २०८२, बुधबार
अ+
अ-

लमही, १४ जेठ ।

लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले शहीद कृष्ण सेन इच्छुकलाई केवल मार्क्सवादी साहित्यकार, पत्रकार र संस्कृतिकर्मीका रूपमा मात्र नभएर एक क्रान्तिकारी नेताका रूपमा पनि स्मरण गर्नुपर्ने बताएका छन् । राप्ती प्रेस मञ्चको आयोजनामा राप्ती गाउँपालिका–१, भालुवाङ पुलचोकस्थित इच्छुक चोकमा आयोजित २३औँ स्मृति दिवस कार्यक्रममा बोल्दै सभामुख घर्तीले यस्तो बताएका हुन । सभामुख घर्तीले भने, “शहीद इच्छुकको कलमले विचार जन्मायो, साहित्य र पत्रकारितामार्फत जनचेतना फैलायो, तर उहाँको भूमिकालाई केवल पत्रकारितासम्म सीमित गर्न मिल्दैन ।

उहाँ एक क्रान्तिकारी नेताका रूपमा नेपाली जनआन्दोलनको अभिन्न अंग हुनुहुन्थ्यो ।”  उनले इच्छुकको योगदानलाई संस्थागत रूपमा स्मरण गर्न र भावी पुस्तालाई उनको विचारबाट परिचित गराउन देउखुरीस्थित सालिक क्षेत्रलाई शहीद पार्कको रूपमा विकास गर्न प्रदेश सरकारले प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको बताए । “उनको स्मृति स्वरूप सिर्जनात्मक संरचना र विचारको अभ्यास दुवै आवश्यक छन्,” घर्तीले जोड दिए । पत्रकारितामा सत्य, साहस र प्रतिबद्धताको मार्ग अपनाउनुपर्ने सन्देश  दिँदै उनले भने, “देशको पक्षमा कलम चलाउन डराउनु हुँदैन, इच्छुकको बाटो त्यही हो ।”  कार्यक्रममा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष शुक्र ऋषि चौलागाईं, वरिष्ठ कवि अहम्मद अब्दुल रहुफ, नागरिक समाज देउखुरीका पूर्व संयोजक दामोदर भण्डारीलगायतले पनि इच्छुकको योगदानको स्मरण गर्दै उनका आदर्शहरूलाई पछ्याउनुपर्नेमा जोड दिए ।