© 2026
काठमाडौँ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल समाजवादी पार्टी (नेसपा) गंगानारायण श्रेष्ठ समूहसँग भएको पार्टी एकता प्रक्रियामा संलग्न सबै नेताहरूलाई उचित संगठनात्मक जिम्मेवारी दिइने स्पष्ट पारेका छन्। सोमबार ललितपुरमा आयोजित एकता सभामा बोल्दै प्रचण्डले एकतामा आएका नेताहरूलाई जिम्मेवारी दिन कुनै किसिमको हिचकिचाहट नगर्ने प्रतिबद्धता जनाए।
श्रेष्ठलाई केन्द्रीय सचिवको जिम्मेवारी दिइसकिएको भए पनि अन्य नेताहरूको जिम्मेवारी औपचारिक रूपमा तय गरिएको छैन। यसै सन्दर्भमा प्रचण्डले पार्टीभित्र लामो समयदेखि साथ दिएका कार्यकर्ताले आफूभन्दा बाहिरबाट आएका नेताहरूलाई बढी प्राथमिकता दिएको गुनासो गर्ने गरेको स्वीकारे। उनले भने, “सधैँ सँगै बसेकाहरूलाई ‘यी त आफ्नै हुन्’ भनेर कहिलेकाहीँ जिम्मेवारी दिन ढिला हुन सक्छ, तर एकतामा आएका नेताहरूप्रति मेरो अलि बढी लगाव हुने गर्छ।”
उनले आन्तरिक असन्तोषको सम्भावनालाई सम्बोधन गर्दै सन्तुलित र न्यायोचित ढंगले कार्यविभाजन गरिने आश्वासन दिए। “तपाईंहरू निश्चिन्त हुनुहोस्, सबैलाई ठिक ढंगले जिम्मेवारी दिइनेछ,” उनले स्पष्ट पारे।
कार्यक्रममा बोल्दै प्रचण्डले एकता प्रक्रियाबाट पार्टीभित्र हुने गुटबन्दी, स्वार्थ समूहको प्रभावलाई न्यूनीकरण गर्न सकिने विश्वास व्यक्त गरे। उनका अनुसार, पार्टी एकताले संगठनलाई थप सुदृढ बनाउनेछ र राजनीतिक स्थायित्वको दिशामा सघाउनेछ।