© २०२३
बुटवल, ११ जेठ । नेपाल भाषा र धिमे बाजा संरक्षण गर्ने उदेश्यका साथ बुटवलमा प्रशिक्षण दिइएको छ । बुटवल उपमहानगरपालिकाको सहयोगमा नेवा देय दबू बुटवल नगर समिति तथा नेवा मिसा दबू बुटवल नगर समितिको आयोजनामा १५ दिने नेपाल भाषा तथा पाच दिने धिमे बाजा प्रशिक्षण सम्पन्न भएको हो ।
एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्यालले तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका छन । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले आफ्नो मातृभाषा र सास्कृति पहिचान भुल्ने गतिमा तिब्रता आएको दुखेसो गरे । यही कुरालाई मध्येनजर गरि स्थानिय सरकार यसलाई जगेर्नामा जोड दिएको उनले दाबी गर्दै सबै जाती र भाषाको संरक्षणमा उत्तिकै प्राथमिकता दिएको बताए । भाषा र संस्कृति जगेर्नासंग सास्कृतिक नृत्यको प्रतिस्पर्धा गराउदा थप सफल भएको उनले बताए । देशका हरेक कुनामा रहेका नेवारहरु बिस्केट जात्रा, भोटेजात्रा र ईन्द्र जात्रा मनाउने प्रचलनलाई हेरेर ईतिहास पत्ता लगाउन सकिने भन्दै उनले बुटवलको विकासमा नेवार समुदायको महत्वपूर्ण भुमिका रहेको बताए । अहिले केवल पूर्वाधार विकासमा चिन्ता बढि लिने तर आफ्नो भाषा, संस्कृतिको संरक्षणमा ध्यान कम भईरहेको उनले दुखेसो गरे । देशको समृध्दि नै भाषा, संस्कृति भएको भन्दै यसलाई जोगाउने सहि समय आएको उनले बताए । संविधानमा समेत स्थानिय भाषा, संस्कृतिमा अधिकारलाई सुनिश्चित गरेको भन्दै यसमा स्थानिय सरकारको जिम्मेवारी भएको बताए । देशभित्र नै महिनादिन घुम्न सकिने सम्भावनाका पर्यटकिय स्थलहरु हाम्रो वरपर रहेको भन्दै उनले हाम्रो संस्कृतिलाई जोडेर पर्यटन प्रवद्घनको सम्भावनालाई जोडेको उनले बताए ।
कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले नगरभित्रका रहेका विभिन्न जाति र संस्कृति फुलबारीका रुपमा चिनिएको बताईन । मगर, नेवार, थारु सबै जातको भाषा, संस्कृति जगेर्नामा पालिका लागेको उनले दाबी गरिन। नगरपालिकाभित्र वडापत्र स्थापना गर्ने महत्वपुर्ण काम गरेको उनले बताए । लोप हुन लागेको धिमे बाजालाई संरक्षण गर्ने उदेश्यलाई जोड दिएको बताईन। नेवारहरु कला, संस्कृति र संस्कारमा धनि जातिका रुपमा चिनिने भन्दै उनले नेपाल राज्यको पहिचान विश्वमा चिनाउन नेवार समुदायको भुमिकाबारे प्रष्ट पारे ।
कार्यक्रममा नेवा देय दबू बुटवल नगर समितिका अध्यक्ष सुन्दर श्रेष्ठले भाषा र संस्कृति संरक्षणमा संस्थाबाट भएका विगतका गतिविधि र आगामी योजनाबारे प्रकाश पार्दै स्थानिय सरकारको सहयोगमा आफुहरु विविध रचनात्मका कामहरु गर्न सफल भएको बताए ।
कार्यक्रममा नेवा देय दबु लुम्बिनी प्रदेशका अध्यक्ष बाबुराम श्रेष्ठ, नेवा देय देबु जिल्ला उपाध्यक्ष अरुणा श्रेष्ठ, संस्थाका सल्लाहकार तथा भिमसेन गुठिका अध्यक्ष सहदेव श्रेष्ठ, नेवा मिसा दबुका अध्यक्ष सीता जोशी, समितिका सचिव राजु भारी, संयोजक शशी श्रेष्ठ, रेनु श्रेष्ठले सबै जातजातीहरुको भाषा संरक्षण, समाजमा आवश्यकता र एकतामा जोड दिदै थप एडभान्स तालिममा जोड दिए ।
धिमेबाजा प्रशिक्षक निर्मला श्रेष्ठ, लक्ष्मी श्रेष्ठ तथा भाषा प्रशिक्षक निरन्जन कक्षपतिले तालिममा सहजिकरण गरेको संयोजक बबिता श्रेष्ठले बताईन । १५ दिने नेपाल भाषा र पाच दिने धिमे बाजामा ३५/३५ जना गरि ७० जना सहभागि रहेका संयोजक लिल प्रसाद श्रेष्ठले बताए ।