© २०२३
सुर्खेत,७ जेठ । हुम्ला तिलगाउँबासीका विस्थापित परिवारले एक हप्ता पछि आज राहत सामाग्री प्राप्त गरेका छन् ।
जिल्लाको नाम्खा गाउँपालिका–६ को तिलगाउँमा एक हप्तापछि बुधबार बल्ल राहत पुगेको हो । जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा गाउँपालिका र विभिन्न संघ संस्थाको सहयोगमा खाद्यान्न सामग्री पुगेको वडाध्यक्ष पाल्जोर लामाले जानकारी दिए ।
उनका अनुसार नाम्खा गाउँपालिका केन्द्र याल्वाङबाट गाडीमार्फत उक्त सामग्री हल्जीसम्म लगिएको थियो । हल्जी गाउँबाट घोडाहरूद्धारा बोकाएर उक्त सामग्री पु¥याएको उनले बताए । उनका अनुसार तत्काललाई केही दिनका लागि पुग्ने राहत गाउँमा पुगेको छ ।
जेठ १ गते राति १० बजेतिर दुई वटा ताल फुटेर हिमपहिरो जाँदा तिलगाउँबासी विस्थापित भएका हुन् वडाध्यक्ष लामाका अनुसार ३३ जना त्रिपालमा बसिरहेका छन् । हिमपहिरोका कारण मानवीय क्षति नभए पनि भौतिक क्षति भने ठूलो भएको छ । विस्थापित भएकाहरूको घरनजिकै पहिरो पुगिसकेकाले उनीहरू घर फर्किने अवस्था छैन । पहिरोले तिलखोला लघुजलविद्युत् आयोजनादेखि खेत, कुलो, खानेपानी लगायतका क्षेत्रमा ठूलो क्षति पुगेको छ ।
संघ संस्थाहरुको सहयोगमा एक हप्तापछि राहत सामाग्री पुगेपनि प्रदेश तथा केन्द्र सरकार भने अहिलेसम्म पुग्न सकेका छैनन् । तिलगाउँवासी अहिले गाउँभन्दा पारीपट्टि विद्यालय रहेको फाँटमा बसिरहेका छन् । कोही विद्यालयभित्र सुत्छन्, कोही खुला चौरमा टेन्ट हालेर बसिरहेका छन् ।
बाढीले बस्तीसँग जोडिएको खोलालाई करिब ३०–४० मिटर गहिरो बनाएको छ भने जमिन चर्काएको छ जसको कारण उनीहरु घरमा बस्न सकेका छैनन् । बाढीसहितको पहिरोले क्षतविक्षत गाउँ उच्च जोखिममा छ । त्रासका कारण स्थानीयले घर छाडेको पाँच दिन बित्यो, तर अहिलेसम्म पहिरोको विषयमा भौगर्भिक अध्ययन हुन सकेको छैन ।