वृद्ध जनसङ्ख्या भन्नाले एक निश्चित उमेर (सामान्यतया ६० बर्ष वा ६५ बर्ष) नाघेका व्यक्तिहरूको कुल समूहलाई लिने गरिन्छ । नेपाल सरकार तथा राष्ट्रिय तथ्याङक कार्यालयले नेपालमा ६० वर्ष र सोभन्दा माथिको उमेर समूहलाई ज्येष्ठ नागरिक वा वृद्ध जनसङ्ख्या भनिन्छ ।
औसत आयुमा वृद्धि तथा मृत्युदरमा आएको कमीले गर्दा नेपाली समाजमा बुढ्यौली समूहको हिस्सा बढ्दै गएको छ । राज्यमा वृद्ध जनसङ्ख्याको वृद्धि हुँदै जानु सकारात्मक पक्ष हो ।
जव राज्यमा विकासका सबै पूर्वाधारहरू सुधार हुँदै जान्छन् । तवमात्र वृद्ध जनसंख्या वड्दै जान्छ । जुन राष्ट्रमा वृद्ध जनसंख्या वढ्दै जान्छ त्यो राज्य विकसित हुँदैछ भन्ने आधार हो । मानिस धेरै बाँच्नका लागि सबै विकासका सूचकहरू सकारात्मक हुन आबश्यक छ । यसको एउटा उदाहरण जापानलाई लिन सकिन्छ ।
जापानमा सन २०२५ को विश्व जनसंख्या तथ्याँक हेर्दा कुल जनसङ्ख्याको २९.४ प्रतिशत वृद्ध जनसङ्ख्या छ । कुनै शिशु जन्मँदाका समयमा विद्यमान मृत्युदर यदि उसको जीवनभर उस्तै रहेमा उक्त शिशु औसतमा कति वर्ष बाँच्न सक्छ भनि गरिएको गणितीय अनुमानलाई औसत आयु भनिन्छ ।
सामान्यतया एउटा मानिस कति बर्ष बाँच्दछ भन्ने अनुमान यसबाट गर्न सकिन्छ । वि.स.२०१८ सालको जनगणना अनुसार नेपालीको औसत आयु ३९ वर्ष थियो । अर्थात यस समयसम्म सरदर नेपालीको बाच्ँने उमेर ३९ वर्ष थियो भन्न सकिन्छ । त्यस समयमा देशमा रहेको रोग, भोक, गरिबी अन्धबिश्वास, रुढिवादी आदि कारणले मानिसको बिभिन्न समयमा उच्च मृत्यु हुँदा औसत आयु कम थियो ।
समय संगसंगै देशमा आएको परिर्वतन, विकासले मानिसको औसत आयु वृद्धि हुँदै जाँदा वि.सं. २०७८ सालमा औसत आयु ७१.३ वर्ष पुगेको थियो । औसत आयु बढ्दै जाँदा नेपालमा वृद्ध जनसङ्ख्या प्रतिशत पनि दिनानुदिन बढ्दै गएको छ । वि.सं. २०१८ सालमा नेपालमा कुल जनसङ्ख्याको ५.२ प्रतिशत (४,०९,७६१ जना) मात्र वृद्ध जनसङ्ख्या थियो ।
वि.स. २०५८ सम्म आउँदा ६.५ प्रतिशत (१४,७७,३७९जना) । वि.सं. २०६८ मा वृद्ध जनसंख्या ८.१ प्रतिशत अर्थात २१ लाख ५४ हजार ४ सय १० थियो । त्यो जनसंख्या १० वर्षमा वि.सं. २०७८ सालमा १०.२१ प्रतिशत अर्थात २९ लाख ७७ हजार ३ सय १८ रहेको थियो । १० वर्षको अन्तरमा ८ लाख २३ हजार वृद्ध जनसंख्या थपिएको छ ।
विस २०८१/०८२ मा झन्डै ३२ लाख वृद्ध जनसंख्या पुगेको छ । यसैगरी बढ्दै जाने हो भने आगामी २१ बर्षमा ५ जनामा १ जना बृद्ध जनसंख्या हुने अनुमान गर्न सकिन्छ । नेपालको २०७८ सालको तथ्याङ अनुसार नेपालको वार्षिक जनसंख्या वृद्धदर ०.९२ प्रतिशत रहदा बृद्ध जनसंख्या वृद्धिदर ३.२९ प्रतिशत छ । यी तथ्याङकहरूलाई बिश्लेषण गर्दा यसैगरी वृद्ध जनसङ्ख्या बढ्दै जाने हो भने आगामी २१ वर्षमा अहिलेको वृद्ध जनसङ्ख्या दोव्वर भन्दा भन्दा धेरै हुनेछ ।
कुनै महिलाले आपm्नो प्रजनन् उमेर (पुरै जीवन) भित्र जन्म दिन सक्ने औसत बच्चाको सङ्ख्यालाई कुल प्रजनन् दर भनेर बुझिन्छ । विस २०२८ सालको तथ्याङलाई हेर्दा नेपालमा एउटी महिलाले औसतमा आफ्नो जीवनभरी ५.७४ जना बच्चा जन्माएको देखिन्छ । यो वि.सं. २०५८ सालसम्म आउदा ४.१ जना हुन पुग्यो । समय संगसंगै कुल प्रजनन दरमा आएको घट्दो परिवर्तनले विस २०७८ सालसम्म आउँदा एउटी महिलाले आफ्नो जीवनकालभरी १.९४ जना बच्चा जन्माएको पाइन्छ ।
यो प्रतिस्थापन तहभन्दा तल छ । जनसंख्या व्यवस्थापनको सामान्य नियम अनुसार देशमा स्थीर जनसंख्याको लागि एउटी महिलाले कम्तीमा आफ्नो जीवनकालभरीमा औसतमा २ सन्तान जन्माएको हुनु आवश्यक मानिन्छ तर नेपालमा एउटी महिलाले दुईवटा भन्दा कम बच्चा जन्माउनाले भविष्यमा जनसंख्या घटने सुनिश्चित देखिन्छ ।
वर्तमान समयमा जन्मेका बच्चाहरू आगामी दिनमा सकृय जनसंख्या हुन्छन् । अहिलेका सकृय जनसंख्या वृद्ध अवस्थामा पुग्दा भविष्यमा सकृय जनसंख्याको तुलनामा वृद्ध जनसंख्याको वृद्धिदर उच्च हुने सुनिस्चित छ । एकातर्फ नेपालमा वृद्ध जनसङ्ख्या दिनानुदिन बढ्दै छ भने अर्कोतर्फ कुल प्रजनन् दर घट्दै छ ।
यसरी दिनानुदिन वृद्ध जनसंख्या बढ्दै जानुका मुख्य कारणहरूमा औसत आयु वृद्धि भैरहनु र ठूलो संख्याको सकृय जनसंख्या वृद्ध अवस्थामा जानुलाई लिन सकिन्छ । प्रजनन् दर घटदै जानुले भविष्यमा सकृय जनसंख्या कम हुने छ । यसरी घढ्दो सकृय जनसंख्या र वृद्ध जनसंख्याबीचको असन्तुलनलाई समयमा व्यवस्थापन नगरे ठूलो चुनौती सामना गर्नुपर्ने हुनसक्छ ।
वृद्ध जनसङ्ख्या वृद्धिदरले ल्याउनसक्ने चुनौतीहरू
१ सामाजिक सुरक्षा र पेन्सनको चुनौती – एकातिर काम गर्ने जनसङ्ख्या घट्ने र अर्कोतिर वृद्ध जनसंख्या बढ्ने भएपछि सामाजिक सुरक्षा (भत्ता), पेन्सन र वृद्ध हेरचाहमा खर्च बढ्ने छ । सकृय जनसंख्या कम हुँदा आर्थिक उत्पादनमा कमी हुने देखिन्छ भने वृद्ध जनसंख्या बढ्दा खर्च वृद्धि भई राज्य सन्चालनमा समेत असरपर्ने देखिन्छ ।
जेरियाट्रिक (वृद्ध व्यक्तिmको विशेष हेरचाह) स्वास्थ्य सेवा प्रभावित । मानिसको औसत आयु बढ्दै जाँदा नसर्ने तथा दिर्गरोग वढ्ने देखिन्छ । वृद्ध जनसङ्ख्या वृद्धिले वृद्धहरूको पालन पोषण स्वास्थ्य उपचार र हेरचाहमा परिवार र राज्यको ठूलो खर्च बढ्ने देखिन्छ ।
२ एक्लोपना वृद्धि हुने सम्भावना– सानो परिवारको संरचना मौलाउँदा न्यून प्रजनन दर, प्रतिभा पलायन र अव्यवस्थित बसाईसराईका कारण सकृय जनशक्तिमा कमी र त्यसमा पनि बिदेशमा हुँदा वृद्ध जनसङ्ख्या घरमा एक्लै हुने सम्भावना बढ्दो छ ।
३ अन्तरपुस्ता हस्तान्तरणमा असर– सकृय जनशक्तिका कारण वृद्ध जनसंख्याको सीप, ज्ञान, अनुभव, रितिथिती संस्कृति साथै सम्पत्ति हस्तान्तरण हुन सक्ने देखिन्छ । सकृय जनसङ्ख्या र वृद्ध जनसङ्ख्या बिचको अस्तित्व तथा सम्वन्धमा असर पर्ने देखिन्छ ।
चाल्नुपर्ने कदमहरूः
४ जेरियाट्रिक (वृद्ध व्यक्तिको विशेष हेरचाह) स्वास्थ्य सेवालाई व्यवस्थित गर्ने ः यस सेवालाई उपचारात्मक पक्षमा मात्र जोडने रोग लाग्न नदिनकालागि निरोधात्मक सेवा, क्षमता विकास गर्नका लागि प्रबधनात्मक सेवा, एक्लो र असहाय जीवनबाट बचाउन पुःव्यवस्थापनात्मक सेवा सञ्चालन गर्नुपर्ने देखिन्छ ।
५ वृद्ध हेरचाहको जिम्मेवारी परिवारको साथै संस्थागत सेवा बिस्तार गर्ने ः परिवार सानो त्यसमापनि सकृय जनशक्ति वैदेशिक पलायनका कारण वृद्धहरू एक्लोपनबाट गुज्रीरहने परिपाटी विकास भैरहेको छ । त्यसैले वृद्ध, वृद्धाहरूलाई हेरबिचार गर्न परिवारलाई जिम्मेवार गराउदै, दिर्घकालिन हेरविचार केन्द्र तथा समुदायमा आधारित सेवा जस्ता संस्थाको व्यक्तित्व विकास गर्नेपर्ने देखिन्छ ।
६ सार्वजनिक स्थानहरू वृद्धमैत्री बनाउनुपर्नेः वृद्ध जनसङ्ख्यालाई दैनिक जीवन सञ्चालनका केन्द्रहरूलाई वृद्ध मैत्री बनाउनुपर्ने देखिन्छ । घर, संस्था, कार्यालय, मन्दिर, कार्यकक्षका सबै स्थानलाई वृद्धमैत्री बनाउदै जानुपर्ने देखिन्छ ।
७ सकृय वुढौलीको अबधारणालाई व्यवहारमा विकास गर्नुपर्नेः नेपाली समाजमा ६० वर्ष पुग्दा नपुग्दै मेरो बुढेशकाल सुरु भयो, मैले कुनै काम गर्नु हुँदैन । सबै काम छोरा बुहारी, नाति नातिनाहरूले गर्नुपर्छ भन्ने चलन छ ।
काम गर्ने क्षमता हुँदाहुँदै काम नगर्ने परिपाटीलाई चिर्दै वृद्ध उमेर छोट्याउने सकृय भएरै वृद्ध अवस्था बिताउने परिपाटीलाई जनाउँछ । वृद्ध अवस्थामा पुगेका मानिसले पनि सक्दो कार्य गरी सकृय आर्थिक तथा सामाजिक जीवन बिताउनुपर्छ भन्ने मान्यता विकास गर्नुनै सकृय वढौली हो यो मान्यतालाई आत्मसात गर्नु आवश्यक छ ।
यी र यस्ता कार्यहरू समयमै गरेको खण्डमा भविष्यमा आइपर्ने सकृय जनसङ्ख्याको घट्दो अवस्था र वृद्ध जनसङ्ख्याको बढ्दो अवस्थालाई केही हदसम्म व्यवस्थापन गर्न सकिन्छ ।