© 2026
रसुवाको उत्तरी सीमावर्ती क्षेत्र हुँदै बुधबार बिहान भोटेकोसी नदीमा अचानक आएको बाढीले ठूलो मानवीय र भौतिक क्षति गरेपछि बुटवलको तिनाउ नदीले पु¥याउन सक्ने जोखिमको चिन्ता सुरु भएको छ ।
निश्चितरूपमा तिनाउ नदीको तटीय क्षेत्रमा बसोबास गर्नेहरू जोखिममा छन् । नदी बग्ने बगरको मुस्किलले पाँच मिटर टाढाको बस्ती कुनैपनि बेला ठूलो जोखिमम पर्न सक्छ । त्यसको उदाहरण २०३८ साल असोज १३ गते आएको बाढी साक्षी छ । त्यतिबेला बुटवलमा ठूलो मानवीय क्षति भएको थियो । तिनाउको एकमात्रै पुल बगाएको थियो ।
बाढीमा परि दर्जनौ मानिसको मृत्यु भएको थियो । सयौं घर बाढीमा परेका थिए । दोभान क्षेत्रमा तिनाउ नदी थुनिएर एक्कासी खुलेपछि अहिलेको बुटवल र खसौली बजार बगरमा परिणत भएको थियो । त्यस्तो नियति फेरी नदोहोरियोस् । बाह्र बर्षमा खोलो पनि फर्किन्छ भन्ने उक्ती छ । के थाहा पाल्पातर्फ पहिरो गएर थुनिएको पानी एक्कासी फुटेमा बुटवलको बगरको बस्ती जोखिममा पर्न सक्छ ।
तसर्थ तिनाउ नदी किनारमा बसोबास गर्नेहरू भरसक सुरक्षित स्थानमा सर्नु श्रेयष्कर हुन्छ । अहिलेपनि ठूलो पानी पर्ने जोखिम कायमै छ । तसर्थ तिनाउ नदी किनारको तटीय क्षेत्रमा बाढीको जोखिम बढेकोले स्थानीय नदी किनारका बस्तीमा सावधानी अपनाउनु आवश्यक छ । ठूलो पानी आउँदा तिनाउको जल सतह धेरै माथि आउने गरेको छ ।
त्यसले बाढी बस्तीमा पस्ने चिन्ता हुने गरेको छ । तिनाउको तल्लो तटीय क्षेत्रको बस्ती हरेक बर्ष जोखिममा पर्नेगर्छ । अहिलेपनि भीषण बर्षा भएको अवस्थामा जोखिम कायमै छ । तसर्थ नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनु पर्ने जरूरी छ । सकिन्छ भने संघीय, प्रदेश र स्थानीय सरकारको पहलमा तिनाउ किनारको बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु आवश्यक छ ।
नदी किनारको बस्ती कुनैपनि अवस्थामा सुरक्षित छैन् । त्यसमाथि तिनाउले आफ्नो बिनासलीला देखाईसकेकोले फेरपनि विनासलीला नदाहोरिएला भन्न सकिदैन । त्यसबेला बुटवलमा ३५ र दोभान क्षेत्रमा २९ जनाको मृत्यु भएको भनिन्छ तर केहीले भने एकसय बढीको मृत्यु भएको समेत बताउने गरेका छन् ।
त्यसले जोखिम कायमै रहेकोले तिनाउ नदी आसपास बस्नेहरू सावधानीका साथ बस्नुपर्ने छ । मौसम अझै सकिएको छैन । आगामी केही दिन नेपालमा धेरै वर्षा हुने मौसमवीदहरूले जनाएका छन् । मौसमवीदहरूको चेतावनीसंगै बाढी पहिरोको प्रकोपजन्य घटनामा पूर्व सतर्कता आवश्यक देखिएको छ । बाढी कतिखेर बढेर आउँछ भन्ने पूर्वानुमान गर्न सकिदैन ।
किनभने तिनाउको मुहानमा भीषण बर्षा भयो भने तल्लो तटीय क्षेत्र जोखिममा पर्छ । तसर्थ बाढी आउनुपूर्व नै सावधानी अपनाउनु आवश्यक छ । बाढी आउनुपूर्व सचेत हुन सकियो भने बाढीले पु¥याउने क्षतिबाट बच्न सकिन्छ । अतः अहिलेको आवश्यकता भनेको संभावित बाढीको जोखिमबाट बच्ने र पूर्व तयारीका कामलाई अघि बढाउने हो । यस बिषयमा स्थानीय बासिन्दामात्रै होइन पालिकाहरूको समेत ध्यानाकर्षण होस् ।
अविरल बर्षाका कारण तिनाउ नदीको किनारमा बाढीको खतरासंगै दक्षिण क्षेत्रमा डुवानले धेरै क्षति पु¥याउन सक्छ । अहिले पानी देशैभरी परिरहेकोले सवैतिर सावधानी आवश्यक भएको छ । तराईमा बाढी र पहाडमा पहिरोको प्रकोप प्रत्येक वर्षको नियमित प्रकृया जस्तै वन्ने गरेको छ ।
सरकारले विपद्अघि गर्नुपर्ने पूर्व तयारीमा ध्यान नदिँदा ठूलो जनधनको क्षति हुने गरेको छ । भोटेकोसीको विनास यसको उदाहरण हो । अतः अहिले तिनाउ किनारको बगरलाई सुरक्षित बनाउने हो भने सुरक्षित क्षेत्रमा वस्ती स्थानान्तरण अति आवश्यक छ ।
भोटेकोसीको क्षतिले तिनाउ किनारको बस्तीको चिन्ता बढिरहेको छ । अतः तिनाउ नदीको बगरमै बसिरहेका नागरिकलाई प्राकृतिक प्रकोपबाट सुरक्षित बनाउनेतर्फ पहल होस् ।