Butwal Today

बिचरा अश्वत्थामा

१४ भाद्र २०८३, आइतबार
अ+
अ-

महाभारतको अभागी पात्र को हो ? मैले त अश्वत्थामालाई मात्र अभागी देख्छु । हरेक दृष्टिले । अश्वत्थामाको चित्रण जसरी गरिएको छ, त्यो देखेर मलाई उसमाथि दया लाग्छ । आरक्षण नपाएका १०० अंक ल्याउने विद्यार्थीले जीवनमा कतै अवसर नपाएको जस्तो जीवनभर भौंतारिएको, अवसर नपाएको र दुर्भाग्य मात्र बेहोरेको कथा छ अश्वत्थामाको ।

अश्वत्थामाले गरेको गल्तीको तुलनामा निकै धेरै सजायँ भोगिसकेका छन् । तर, आजसम्ममुक्त भएका छैनन् । कुरुक्षेत्र युद्धमा लाखौं योद्धाले वीरगति प्राप्त गरे । तर युद्धमा अश्त्थामालाई कसैले मार्न सकेन । किनभने उनी बहादुर थिए । दुर्योधन, कर्ण, अभिमन्यु, जयद्रथ, दुर्योधनका १०० भाई लगायत कुरुक्षेत्रका सबै योद्धाले स्वर्ग प्राप्त गरे ।

सानो गल्ती गरेका र ठूला गल्ती गरेका सबैले वीरगति प्राप्त भनेर गुणगान गरिएको छ । तर युद्धमा अन्यायपूर्वक पिताको हत्या गरिएका, साथी गुमाएका र कुरुक्षेत्र युद्धका अन्तिम सेनापति अश्वत्थामा आजसम्म दुःख भोग्न विवश छन् ।

उनी स्वर्ग त के नर्क पनि जान नपाउने अवस्थामा छन् । पहाड र हिमाल डुल्छन् । निधारमा ठुलो घाउ छ, त्रेता युगदेखिको हजारौं वर्ष पुरानो । यति लामो पुरानो घाउ लुकाएर राति राति हिंड्छन् । कैयौं कथाकारले उनलाई भेटेको भनेर कथा लेखेका छन् । तर उनको वास्तविक पीर र मनको पीडा कसैले बुझ्ने प्रयास गरेको छैन । यति लामो समयसम्म बिना औषधिको घाउ लिएर हिंड्ने बिरामीको दुःख बिरामीलाई मात्र थाहा होला ।

अश्वत्थामा गरीब द्रोणाचार्यका पुत्र थिए । शिशु अश्त्थामालाई कुपोषित आमाले आफ्नो दुधले पेट भराउन सक्दिनथिन् । शिशु भोकाएर रुन्थ्यो । एक दिन उनले आफ्ना पतिलाई भनिन्— स्वामी तपाईंका मित्र त राजा हुनुहुन्छ, एउटा गाई मागेर ल्याउनुस् । पुत्रलाई भेट भरि दुध खुवाउन सकिएन ।

द्रोणाचार्य आफ्ना मित्र द्रुपदको दरबारमा गए । द्रोणका फाटेका लुगा देखेर सबै दरबारी हाँसे । द्रोणले शिशु अश्त्थामाका लागि दीन भएर याचना गरे, मित्र तपाईंले गुरुकहाँ सँगै रहँदा भन्नु भएको थियो । केही समस्या परे आउनु होला । मेरो पुत्रले पेट भरि दुध खान पाएको छैन । एउटा दुहनो गाई दिनुहोस् न । द्रुपदले पुरानो मित्रता बर्सिेछन् । तिरस्कार गर्दे भने— तिमी जस्तो निर्धनसँग मेरो, एउटा राजको के सम्बन्ध ? अझ मित्र भनी सम्बोधन गर्ने ? प्रतिहार यसलाई बाहिर निकाल ।

द्रोणाचार्यलाई अपमानपूर्वक दरबार बाहिर निकालियो । पिताले जुन अपमान पाए, त्यसको कारण बिचरा अबोध अश्वत्थामा नै त थियो ।

रित्तो हात घर फर्के पछि श्रीमतीले सोधिन्— आर्यपुत्र मैले शिशुको पेट कसरी भरुँ?
द्रोणाचार्यले पानीमा पीठो घोलेर त्यसलाई दिँदै भने — यसैलाई दुध ठानेर खुवाउ ।

जब द्रोणले हस्तिनापुर दरबारमा राजकुमारहरूलाई शस्त्रविद्या सिकाउने काम पाए त्यस पछि उनीहरूको गरीबीमा सुधार भयो । तर त्यहाँ पनि आचार्यले आफ्नो पुत्र द्रोणलाई राम्ररी शस्त्र विद्या सिकाउन पाएनन् । उनी आफ्नो पूरा ज्ञान आफ्नो सन्तानलाई दिन चाहन्थे ।

अश्त्थामा योग्य पनि थिए तर अर्जुनलाई धनुर्विद्याको ज्ञान दिने वाचा गरेर द्रोणले अफ्नो पुत्रलाई विद्याबाट वंचित गरे । अर्जुनले पनि द्रोणलाई रात दिन एक छिन छोड्दैनथे । एकलव्यले बरु द्रोणको मूर्ति थापेर धेरै कुरा सिके अश्त्थामालाई त्यो सुविधा पनि भएन । बल्लतल्ल केही फुर्सत् पाएर द्रोणले जे सिकाए त्यही मात्र उनले सिक्न सके ।

अश्वत्थामाको नाम समेत युद्धमा अभिशप्त बनाइयो । द्रोणाचार्यको हत्या गर्न युद्ध भूमिमा अश्वत्थामा हतोहतः भनेर हल्ला फिजाइयो । अझ यो हल्ला फिँजाउने नैतिक जिम्मेवारी सत्यवादी युधिष्ठिरले लिए । जबकि यो सत्य थिएन । नैतिकता बचाउन के भनियो भने अश्वत्थामा नाम गरेको हात्ती मरेको हो । बिचरा अश्वत्थामा ।

उसले म जिउँदै छु भने पनि उसको कसैले विश्वास नगर्ने वातावरण बन्यो । युद्धमा दुर्योधनको पक्ष लिनु उनको नैतिक जिम्मेवारी थियो । जसको पिता युद्धको सेनापति छ उसले युद्धमा आफ्नो पितालाई सहयोग गर्नै पथ्र्यो । दुर्योधनको विशेष अनुग्रह अश्वत्थामामाथि थिएन तर अश्वत्थामाको स्वामीभक्ति अतुलनीय छ ।

दुर्योधन जन्म र मृत्युको दोसाँधमा भएको समयमा जब जंघा टुटेर पोखरीको छेउमा घाइते भएर लडिरहेका थियो, उसलाई भेट्न जाने एकमात्र योद्धा अश्वत्थामा मात्र बाँकी थिए । अश्वत्थामाले दुर्योधनलाई भेट्दा दुर्योधन भाव विह्वहल भयो र माटोको टीका लगाइदिँदै भन्यो, तिमी मेरा सेनापति मलाई पाँच पाण्डवलाई मारेर उनको टाउको ल्याइ दिए शान्तिपूर्वक मर्न पाउँथें ।

अश्वत्थामा रातिमा पाण्डव खोज्दा पाण्डवका पुत्रहरू पाँचजना सुतेको देखे । उनको टाउको काटेर लगिदिएपछि दुर्योधनले शान्तिपूर्वक अन्तिम साँस फेर्यो । तर अश्वत्थामा यस दुष्कृत्यले भीम सारै रिसाए र उसनको निधारको मणिलाई घाइते बनाएर निकालीदिए ।

त्यस दिनदेखि अश्वत्थामा दुःखी भएर हिँडेका छन् । पाँच पाण्डव मात्र होइन, दुर्योधनादि १०० भाई पनि स्वर्ग पुगे तर अश्वत्थामा आज पनि घाइते हिँडेका छन् । सायद उनले नरकमा पनि यो भन्दा सुख पाउँदा हुन्, जुन दुःखले उनी धर्तीमा हिँडेका छन् । मरेपछि पाप समाप्त हुन्छ, तर उनले आफ्नो गल्तीको बढी सजाय पाएका छन् । धन्न उनले एउटा साथी पाएका छन्, युद्ध भूमिमा घाइते कृपाचार्य । उनी पनि बिचरा भएर हिँडेका छन् । दुवैजना मर्न चाहन्छन् तर मर्न सक्दैनन् ।

आजका कवि र लेखकहरूले पनि रामायण र महाभारतका अनेक चरित्रमाथि दया राखेर नयाँ कथा लेखेका छन् । उनीहरूले रावण, दुर्योधन, धृतराष्ट्र र कर्ण माथि जुन दया र सद्भाव राखेर कथा कविता लेखेका छन्, त्यो सद्भाव पनि बिचरा अश्वत्थामाले आजसम्म पाएका छैनन् । बिचरा अश्वत्थामा ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?