© 2026
काठमान्डौँ ।
नेपाल–चीन सीमाक्षेत्रमा गएको पहिरोका कारण बनेको ताल करिब १४ वटा मानक फुटबल मैदान बराबर फराकिलो रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ ।
चिनियाँ सरकारी टेलिभिजन सीजीटीएनका अनुसार एन्नेङ ग्रुपले अगस्ट २९ सम्म गरेको अनुगमनबाट तालको क्षेत्रफल करिब १ लाख वर्गमिटर रहेको देखिएको हो । यो क्षेत्रफल करिब १४ वटा मानक फुटबल मैदान बराबर हुन्छ ।
पहिरोका कारण नदी थुनिएर बनेको उक्त ताल हाल नियन्त्रणमा रहेको एन्नेङ ग्रुपको तथ्यांक उद्धृत गर्दै सीजीटीएनले जनाएको छ ।
यसैबीच, दोस्रो ‘बाँध ताल–२’ समेत पहिचान गरिएको छ। उक्त ताल पहिलो तालभन्दा करिब ५ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा रहेको जनाइएको छ ।
भदौ १० गते आएको भीषण बाढीपछि चिनियाँ पक्षले सीमाक्षेत्रमा थप जोखिमबारे निरन्तर अध्ययन तथा अनुगमन गरिरहेको जनाएको छ ।