Butwal Today

बुटवल–पाल्पा सडकको जोखिम

४ भाद्र २०८३, बिहीबार
अ+
अ-

बुधबार बिहानै बुटवल पाल्पा सडक खण्डको सिद्धवावा मन्दिर नजिक सुख्खा पहिरो खस्दा केही बेर सडक अवरुद्ध भयो । अहिले बर्षाको मौसम भएकोले सडक अवरुद्ध भएका घटना दिनहुँ सार्वजनिक हुने गरेका छन् ।

बुटवल पाल्पा सडक खण्ड त्यसै पनि जोखिमले भरिएको छ । त्यसमाथि बर्षामा यात्रुले ज्यान हत्केलामा लिएर हिँडनु परिरहेको अवस्था छ । मनसुनी रेखा अहिले नेपालको तराई नजिक रहेकोले ठूलो पानी पर्नेक्रम बढिरहेको छ ।

बुटवल पाल्पा सडक खण्डमा यसअघि पनि धेरै स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । यो बर्ष मानवीय क्षति भने भएको छैन तर जोखिम कायमै रहेकोले सावधानी अपनाउनुपर्ने खाँचो छ ।

अहिले नेपालका विभिन्न स्थानमा बर्षा भैरहेकोले बाढी, पहिरो र डुबानको समस्या देखिएको छ । पहाडमा पहिरो र तराईमा बाढी र डुबानको समस्याले स्थानीय जनजीवन प्रभावित भैरहेको छ । त्यसो त प्राकृतिक विपद् कहाँ र कति बेला जान्छ भन्न सकिन्न् । प्राकृतिक विपद्बाट जोगिन सावधानी अपनाउन सकियो भने क्षति हुनबाट रोक्न सकिन्छ ।

अहिले देशका विभिन्न स्थानमा गएको पहिरोका कारण पहाडी सडक अधिकांश बन्द अवस्थामा छन् । कालीगण्डकी करीडोरमा पनि बुटवल पाल्पा सडक खण्डकै अवस्था छ । अर्थात सडक अवरुद्ध हुने र खुल्नेक्रम जारी छ ।

पहाडमा पहिरोको समस्या बर्षौंदेखि कहिल्यै समाधान नहुने रोग बनेको छ । यता तराईमा पनि यही समस्या छ । प्राकृतिक प्रकोपले बाढी र डुबानको समस्यामात्रै निम्त्याएको छैन, त्यो संगै जोडिएका अन्य धेरै बिषयले प्रभाव पारेको छ । भू–क्षय तराईमा अर्को गंभीर समस्याका रूपमा छ । बर्षौ भैसक्यो नेपाल सरकार आफ्नो जमिन सुरक्षित गर्न सक्दैन ।

बाढी, पहिरो, आगलागी लगायतका विपद् जुन बेला जहाँ पनि हुन सक्छ । विशेषगरी बाढी र पहिरोका कारण हुन सक्ने जनधनको क्षतिलाई रोक्न सकिन्न । तर, सम्भावित जोखिमलाई भने रोक्न सकिन्छ ।

पहिलेदेखि नै पूर्वाधार निर्माणमा ध्यान दिने हो भने यो समस्या धेरै हदसम्म रोक्न सकिन्छ । नेपालमा बेला बेलामा ठूला पहिरो र बाढीले बितण्डा निम्त्याउँदा समाधानका लागि प्रयास नगरिएको होइन तर त्यो पर्याप्त भएन भन्ने कुरा हो ।

बुटवलको ज्योतिनगर पहिरो पनि त्यसको एक उदाहरण हो । स्थानीय ज्योतिनगरका जनता बर्षाको बेला रातभर जाग्राम बस्न बाध्य भएको सुनाउने गरेका छन् । विगत २८ बर्षदेखिको यो विपद समाधानमा राज्यको उदासिनता जिम्मेवार छ ।

वि.सं. २०७२ सालमा गएको विनाशकारी भूकम्पले धेरै पहाडमा हलचल ल्याएको कारण अहिले यी पहाड धेरै असुरक्षित छन् । सानो पानी आउँदा पनि ठूलो जन–धनको क्षति हुने अवस्था छ । भूकम्प जाँदा कमजोर संरचनाकै कारण नागरिकले ज्यान गुमाउन पुगे । बाढी पहिरोले जस्तै भूकम्पले पनि कमजोर भवन संरचना भत्केर ठूलो जनधनको क्षति हुने गरेको छ ।

यो बिषयमा पालिकाहरूको ध्यान जानु जरुरी छ । प्राकृतिक प्रकोपको बिषयमा पालिकाहरूले समेत ध्यान दिनु जरुरी छ । पहिरो, बाढी र डुबान अनि भुकम्प कहिल्यै अन्त्य नहुने दिर्घकालीन समस्या हुन । यसबाट हुने क्षति कम गर्ने कुरा महत्वपूर्ण हो । तसर्थ बर्षा अगावै प्राकृतिक प्रकोपबाट बच्न तीनै तहका सरकारले गंभीरता देखाउनु जरुरी छ ।

बर्षौदेखिको यो समस्या कुरामै सीमित नहोस् । अहिले बुटवल पाल्पा सडक खण्डको जोखिमका विषयमा यात्रु आफैले सावधानी अपनाउनु जरुरी छ । सुख्खा बेलामा पनि पहिरो जाने भएकोले ठूलो पानी पर्दा सरकार, पालिका र स्वयं यात्रु सचेत बन्नुपर्ने आवश्यक छ । सानो असावधानीले पनि ठूलो क्षति हुने भएकोले यो सडकमा सावधानीपूर्वक यात्रा गरौंं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?