© 2026
आज विश्व फोटोग्राफी दिवस । हजार शब्दले व्यक्त गर्न नसक्ने सन्देश एउटा फोटोले प्रवाह गर्छ । यही भनाइले स्पष्ट हुन्छ– फोटोग्राफीको महत्त्व ।
निश्चित रूपमा विश्व फोटोग्राफी दिवस केवल औपचारिकताका लागि होइन, यो अव जीवनशैली बनिरहेको छ । मानिसको जन्मदेखि मृत्युसम्म यसको प्रभाव छ । अर्थात् पछिल्लो समय यसको प्रयोग बढिरहेको छ । यसको प्रभावसँगै दुरुपयोग बढ्ने चिन्ता पनि छ । पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगले फोटोग्राफीको अनिवार्यता स्पष्ट गरिसकेको छ ।
फोटोग्राफीको महत्त्व दर्साउन यो दिवसले निकै ठुलो सहयोग पु¥याएको छ । यद्यपि फोटोग्राफीको प्रभाव जसरी बढेको छ, यसको जिम्मेवार प्रयोगका विषयमा पनि अव सोच्नुपर्ने भएको छ । पहिले यो पेशा हेयको रूपमा लिइन्थ्यो । अहिले यो सम्मानित पेसाको रूपमा स्थापित बन्दै गएको छ । विगतमा फोटो खिच्ने काम र पेसालाई सानो काम भनेर तुच्छ बनाउने गरिएकोमा अहिले अवस्था फेरिएको छ ।
फोटोग्राफीको इतिहास बुझाउन, यसमा रुचि राख्ने मानिसहरूलाई प्रोत्साहन गर्न र व्यावसायिक रूपमा फोटोग्राफी गरेर बसिरहेका मानिसहरूको सम्मान गर्न विश्व फोटोग्राफी दिवस मनाइन्छ । आजको दिन विश्वभरका फोटोग्राफरहरूले खिचेका ऐतिहासिक र उत्कृष्ट फोटोहरू प्रतिष्पर्धामा राख्ने प्रचलन पनि रहेको छ । एउटा फोटोले दिने सन्देश र महत्त्व एकहजार शब्दले व्यक्त गर्न सक्दैन भन्ने कुरामा कुनै सन्देह छैन । नेपालमा फोटोग्राफीको महत्त्व अझै जनजनमा पुग्न सकेको छैन् । यद्यपि विश्वमा भने यसको महत्त्व निकै ठुलो र ब्यापक छ ।
पछिल्लो समय फोटोग्राफीप्रति रूची हुनेहरूको संख्या बढ्दै गएको छ । यसको प्रयोगमा बृद्धि भएसंगै अर्को चुनौतिको कुरा के हो भने फोटोग्राफरहरूको जीवन यो पेशाले सुरक्षित गर्न सकेको छैन् । फोटोग्राफीमा रुची हुनेहरूले यसलाई जीवनको अभिन्न अंग बनाउन सकेका छैनन् किनभने यो पेशाबाट आत्मनिर्भर बन्न ग्राहो छ । दैनिक जीवन चलाउन फोटोग्राफी पेशा चुनौति र धौ धौको पेशा हो । अहिले त हरेक नागरिकको हातमा मोबाइल भएका कारण फोटोग्राफी सहज बन्दै गएको छ ।
फोटोग्राफी प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको अभिन्न अंग हो । विश्व फोटोग्राफी दिवसको अवसरमा यसको महत्वलाई अझै बढाउने तथा उजागर गर्नेतर्फ हामी सवैको ध्यान जानु जरूरी छ ।
नेपालमा विभिन्न कार्यक्रम गरि यो दिवस मनाईदैछ । खासगरी सञ्चारकर्मीहरूले यो दिवस मनाईरहँदा फोटोग्राफीलाई मर्यादित, प्रतिवद्ध र निष्ठाको पेसाको रूपमा यसको गरिमा अभिबृद्धिमा भूमिका खेल्नु जरूरी छ । यो दिवस केवल सञ्चारकर्मीका लागि मात्रै होइन, फोटोग्राफीमा रुची राख्ने तमाम फोटोग्राफरका लागि पनि उत्तिकै प्रिय छ ।
अतः दिवस मनाउँदै गर्दा यसको महत्त्व र उपादेयताको कुरामात्रै होइन, पो पेसालाई जिम्मेवार बनाउने कुरामा पनि उत्तिकै चासो र चिन्ता व्यक्त गर्नु जरुरी छ ।
फोटो खिच्नकै लागि स्टुडियोमा जानु नपर्ने अवस्थाले फोटोग्राफी जोखिममा परेको छ । जसका कारण यो पेशा लोप हुने हो कि भन्ने चिन्ता पनि छ । एक सेकेण्डमा मोबाईलबाट खिचेको फोटो वा तस्वीर इण्टरनेटको माध्यमबाट विश्वभर पुग्ने अवस्था सिर्जना भएको छ । फोटोग्राफी आधुनिक बन्दै गएको अवस्थामा यसको विकासमा रिलवाला क्यामराले खेलेको भूमिकालाई पनि स्मरण गर्नैपर्दछ ।
रिलभन्दा अगाडीपनि क्यामराको काम भएको थियो । त्यसबेला सूर्यको किरणबाट फोटो निकाल्ने गरिन्थ्यो । विश्व फोटोग्राफीको इतिहास करिव दुईसय बर्षभन्दा पुरानो छ । संसारमा सबैभन्दा पहिलो तस्वीर सन् १८२६ मा फ्रान्समा खिचिएको थियो । तस्वीर पनि अभिव्यक्तिको महत्वपूर्ण माध्यम हो । फोटोग्राफीको माध्यमले थुप्रै अब्यक्त कुरा व्यक्त गर्न मद्दत पु¥याएको छ । यसको प्रयोगमा जिम्मेवार बनौं । दिवसको शुभकामना ।