© 2026
प्रष्ट छ । को सज्जन र को भ्रष्ट छ । को सन्तुष्ट र को किन असन्तुष्ट । को सदाचारी र को दुराचारी । को इमान र को बैमान । को राष्ट्रवादी र को राष्ट्रधाती । को उदारवादी र को अनुदारवादी । को जनमुखी र को धनमुखी । को जनसेवी र को जनविरोधी ।
को विकासवादी र को विनासक । को अग्रगामी र को पश्चगामी । को क्रान्तिकारी र को प्रतिक्रान्तिकारी । को लोकतन्त्रवादी र को तानाशाही । को अहंकारी, स्वेच्छाचारी र को आज्ञाकारी । को सिद्धान्तनिष्ट र व्यवहारिक, को सिद्धान्तहीन र अव्यहारिक । कस्ले पायो र कस्ले गुमायो । सधैं किन आन्दोलन हुन्छ, गरिन्छ र गराइन्छ । कसको महिमा किन गाइन्छ र कसलाई शूली चढाइन्छ आदि इत्यादि ।
तिमीले हामीलाई मानेनौं, हामीले पनि तिमीलाई मान्दैनौं । तिमीले हाम्रो विरोध ग¥यौ, हामीले पनि तिम्रो विरोध गर्छौ । तिमीले हामीलाई सत्ताबाट हटायौ, हामीले पनि तिमीलाई हटाउँछौं । तिमीले हाम्रो सत्ता टिक्न दिएनौ, तिम्रो सत्ता पनि टिक्न दिन्नौं । तिमीले जसरी बदनाम ग¥यौं, हामीले त्यो भन्दा बढी बदनाम गराउँछौं । राजनीतिमा हुने यही र यस्तै होइन त ? उस्तै गरिएको छैन त ?
त्यसैले भनिन्छ– सत्ता संघर्ष सहज हुन्न । सर्वसाधारणले सोचे जसरी चल्दैन । न त दलहरूले भनेजस्तो हुन्छ । हुन्न । खोजेको र रोजेको पाइन्न । तर खोज्ने र रोज्नेक्रम पनि रोकिन्न । यो उपक्रम जहिलेदेखि राज्यसत्ताको उत्पत्ति भएको थियो तहिलेबाट सुरु भएर चलिरहन्छ सधैं । न कसैले टार्न सक्छ, न कसैले हार्न खोज्छ । खोज्दैन । संसारमा जति मान्छे छन्, उति अनुहार, बोली–व्यवहार, सोचाई र बुझाई हुनाले । प्रकृतिको गति र मति सोही अनुसार चल्नाले ।
भनिन्छ – संसारमा परिवर्तन भन्ने शब्द बाहेक अरू सवै परिवर्तनशील छ । कसैले नचाहेपनि पलपलमा परिवर्तन भैरहन्छ । त्यसैले परिवर्तन सवैले खोज्ने, चाहने, तर आफै उदाहरण बन्न नचाहने भए धेरै । संसार बदल्न खोज्ने तर आफुचाहिँ नबदलिने । समय, समाज र प्रकृतिको गतिसंग जोरी खोज्ने जो पनि हो बदनाम हुने । अहिले भएको छ त्यही ।
हिजो भएको थियो र हुने छ भोलि पनि । जो समयानुसार बदलियो, त्यो रह्यो । जो बदलिएन, उसले नँचाहँदा नँचाहँदै पनि बिदालिने हो । सजिलो बन्ने कि असजिलो हुने ? आफैले विचार गर्ने हो । उदार सत्ता दीर्घायु हुन्छ । अनुदार भए अल्पायुमै जान्छ । हिजो त्यही भएको थियो र हुने छ भोलि पनि ।
आलो घाऊ अलि बढी दुख्नु स्वभाविकै हो । नौदिनसम्म नौलो, बीसदिनपछि बिर्सियो भनेको यही हो । अहिले पुराना र नयाँका बीचमा जुन राजनीतिक सत्ता संघर्ष चलिरहेको छ, नौलो हैन यो । अन्यथा मान्न पर्दैन । हिजो जे भएको थियो, त्यही अर्को तरिकाले दोहोरिएको मात्रै हो । पात्र र प्रवृत्ति फेरेर । आज जस्तो अफ्ठ्यारो परेको छ, हिजो परेको थियो र पर्ने छ भोलि पनि ।
सधै भइरहने प्रक्रिया हो । बालेन नेतृत्वको सरकार आएर र ओली बाहिरिएर भएको हैन । पुरानाले नयाँलाई असफल पार्न खोजेकै छन् । सोही अनुसार आफ्ना सवै शक्ति प्रयोग गरेका छन् । नयाँले पनि पुरानालाई विस्थापित गरेर आफुहरू स्थापित हुन चाहेकै छन् । राजनीतिक सत्ता संघर्षको चित्र र चरित्र यही हो । सत्ताका सवै संयन्त्र पुरानै पारामा अभ्यस्त भएकाले पखाला लागेको छ । नयाँको शैली पचाउन सकेका छैनन् । भएको यत्ति हो । अरू केही होइन ।
सवैलाई थाहा छ । रास्वपा र बालेन सरकारको पक्षमा कुनै संघ–संस्था, सञ्चारमाध्यम, संरचना, अड्डा, अदालत, आयोग, नियोग, कर्मचारी, शिक्षक, प्राध्यापक, पत्रकार, विश्लेषक, व्यापारी, वकिल, न्यायाधीश, उद्योगपति छैनन् । अकल्पनीय तरिकाले चुनाव जितेर सरकार बनाइसकेपछि बाध्यताले समर्थन गर्ने विषय बेग्लै हो । जो बने र बन्दैछन्, पुरानै दलका मान्छे हुन् ।
रास्वपा समर्थित संगठन पहिले थिएनन्, अब हुनेछन् । जति पनि आन्दोलन हुँदैछन्, अभाव र दबाब दिदैछन्, ती सवै राजनीति अर्थात् सत्ता संघर्षकै दाउपेच हुन् । आफ्ना संयन्त्र प्रयोग गरेर, बदनाम गराएर, असफल पार्न प्रयोग गरिएका अस्त्र । सहि ठाउँमा प्रयोग भए, प्रशंसित हुने छन् सर्वत्र । गलत गरिए हुने छन् निर्बस्त्र । स्वार्थका दाउ चाल्दा जनतालाई मात्रै दुःख दिएर पार्ने हुन् अलपत्र । एकले अर्कोलाई गलाउने र ढलाउने प्रतिस्पर्धाले ।
मेनपावर कम्पनीहरू आन्दोलनमा छन् । शिक्षकहरूले धम्की दिएका छन् । चाहिने भन्दा बढी ग्याँस आयात हुँदाहुँदै अभाव देखाइएको छ । सुकुम्बासीदेखि लिएर कर्मचारी, अधिकारवादी, मिटरब्याज पीडित र साहुहरू, लघुवित्त पीडित, सहकारी, काला व्यापारी, बिचौलिया, माफिया हुँदै अदालतका न्यायाधीशले समेत अन्तर्राष्ट्रिय अधिकारवादी संस्था गुहारेर दबाब दिन लगाएको बताइदै छ ।
रास्वपा र बालेन नेतृत्वको सरकारले नसोचोस् कि सहजै चल्न दिन्छन् । दिन्नन् । देशभित्र र बाहिर जति पनि पुराना दलका संगठन छन्, ती सवै बालेन नेतृत्वको सरकार र रास्वपालाई बदनाम गर्न परिचालित छन् । उनीहरूको राजनीति नै त्यही हो र हो सत्ता संघर्षको बाध्यता पनि ।
सत्ता संघर्ष आफ्नै घर–परिवार भित्रदेखि लिएर बाहिर गाउँ, समाज, वडा, पालिका, प्रदेश, देशहुँदै महादेश र विश्वभरि चल्छ । नियमित र सधैं हुने प्रक्रिया हो यो । त्यसैले कसैले नसोचे हुन्छ सहजै चल्छ र चलाउन सकिन्छ । गल्ती गर्दै, सिक्दै, सुधार्दै जाने हो । गल्ती नगर्ने त कोही पनि हुन्नन् । सवैले गर्छन्, सिकेर सुधार्छन् अनि अगाडि बढ्छन् । सुधार्दै गए, टिक्लान् बालेन ।
ओलीले जस्तै अहंकार देखाए, व्यवहारिक नभए, सदनप्रति जवाफदेही नबने टिक्न दिन्नन् । रास्वपाका सांसदले पनि विरोध गर्नपर्ने अवस्था आउनुको कारण बालेनको अनुदारवादी स्वभाव र शैली मान्नेहरूको कमी छैन । जुन उमेरमा उनी जसरी प्रधानमन्त्री बने, यसैलाई जीवनको सवैभन्दा ठूलो उपलब्धी बनाए राम्रै हुन्थ्यो । नबनाए उनै जान्छन् । देश र व्यवस्था केही हुन्न । चिन्ता गर्नै पदैन ।