© 2026
आजभोलि राजनीतिका कुरा गर्न त के सुन्न समेत मन लाग्दैन । राणा शासनको पालाबाट राजनीति गरेका पनि यही छन् । राणा विरोधी अभियान चलाउने योद्धाहरू पनि यही छन् । पञ्चायत कालमा ठुला ठुला सङ्घर्ष गरेका र सङ्घर्ष गर्दा गर्दै जेलनेल, हिरासत भोगेका पनि यहीँ छन् ।
त्यत्ति मात्र नभएर मुलुक बदल्नका लागि भनेर जीवन अर्पण गरेका र घरद्वार छोडेर संगठन विस्तार गर्दै हिंडेकामात्र होइन यस्तै अभियानमा लागे वापत ज्यान गुमेका सहिद परिवारका सन्तानहरू पनि यहीँ छन् ।
त्यो त्याग त्यो तपस्या र त्यो बलिदान कति उचाइको थियो ? सम्झदा गौरव लाग्छ । आज त्यो त्यही उचाइमा छ कि केही खस्केको अवस्थामा छ ? यो गहन छलफलको विषय बनेको छ । किन ती होनहार युवाहरूले ज्यानको वाजि लगाएर आहुती दिए ? किन र केका लागि घरद्वार छोडेर ती योद्धाहरू राजनीतिमा होमिए ?
सर्वस्व हरण हुँदा र टाउकाको मूल्य तोक्दा समेत पर्वाह नगरेर एक चित्तले किन परिवार छोडेर हिंडे होलान ? १०४ वर्षको राणा शासन सित्तैमा ढलेको होइन । ३० वर्षे पञ्चायत सानो जोडले खुइलिएको होइन ।
पञ्चायत कालमा राज्य सञ्चालन गरेकाहरू जो अहिले जीवित छन् उनीहरूको चुरी फुरी अहिले हेर्दा त कति भयानक छ त्यो समयमा कस्तो हूँदो हो वरै ? आफै कल्पना गर्न सकिन्छ । पञ्चायत विरोधि आन्दोलनमा लागे वापत यातना पाएकाहरू मध्य कतिपय अहिले पनि कष्टपूर्ण जीवन बाँच्न बाध्य भइरहेका छन् ।
उनीहरूको शारीरिक पीडा भन्दा अझ दर्दनाक पीड मनको पीडा बनेको छ । त्यो समयमा राजनीतिमा लागे वापत यातना पाए त्यसको वदलामा न राजनीति दलले केही दियो न त बहुदल आएपछिको सरकारले केही दियो । निरंकूश कालको समयमा आन्दोलित भएका र जेल नेल सहित हिराशतमा बस्न वाद्य भएकाहरूलाई तपाई भेटनु हुन्छ भने एक पटक सोध्ने प्रयत्न गर्नुस, उहाँहरूको शरीरको अवस्था र मन पीडा कस्तो छ ।
एकपटक गिरफ्तारीमा परियो भने त्यो सधैका लागि रेडलिष्टमा पर्दथ्यो । रेडलिष्ट भनेको जतिवेला पनि निगरानी हो । जहाँ जे सुकै घटना भए पनि त्यसको निसाना त्यसै माथि सोझ्याइन्थ्यो । कति कहाली लाग्दा दिनहरू थिए ? पञ्चायत कालमा पञ्चहरूको चाकडी गर्न नजान्नेहरूलाई प्रायः गरेर अराष्ट्रिय तत्वको विल्ला लगाइन्थे ।
बहुदलीय व्यवस्था पुनर आगमनपछि अव ढुक्कसंग लेख्न बोल्न पाइने भयो भन्ने लागको थियो तर दरवार हत्या काण्ड पछि उदय भएका राजा ज्ञानेन्द्रलाई आफ्नो शक्ति देखाउन मन लाग्यो संविधानले दिए पनि नदिए पनि संविधानको गलत व्याख्या गरेर भए पनि दलमाथि प्रतिवन्ध लगाएर नेतृत्व वर्गलाई वन्दी बनाएर आफ्नो नेतृत्वमा सरकार बनाए ।
कल्पना गर्नुस त हजुर ! हजुरको शिरमा लगाउनका लागि हातमा ल्याएको शिरपोस अरू कोही आएर जबरजस्ती खोसेर आफ्नो शिरमा लगायो भने त्यतिवेला तपाईको हविगत के होला ? तपाईको मनमा कस्तो तरंग पैदाहोला ? तपाईको हातबाट खोस्नेलाई कति सम्मान दिनुहोला ? २०५९सालमा भएको त्यस्तै हो ।
यहाँ भन्न खोजिएको के हो भने आजको अवस्था सहजै कसैले दयाले वा माया गरेर दिएको होइन । पहिलो कुरा यसरी बुझ्नु पर्दछ । दोस्रो यो बहुदलीय व्यवस्थामा अघोसित प्रतिवन्ध लगाउँदाको समयमा हरेक पत्रिकाबाट प्रकाशित हुने समाचारमा सेन्सरसीप लागुहुन्थ्यो । राज्यबाट भएका ज्यादतिका वारेमा एक शब्द लेख्न पाइदैनथ्यो ।
रेडियोबाट प्रसारण हुने समाचारमा सेन्सरसीप लागु हुन्थ्यो । प्रहरी प्रशासनलाई देखाएर मात्र प्रसारण गर्न पाइन्थ्यो । संवैधानिका कू भएको समयमा त एफएम रेडियोबाट समाचार भन्न रोक लागेकाले कतिपय पत्रिकामा आएका समाचारलाई विश्लेषण गरेर प्रसारण गर्ने गरिन्थ्यो । बहुदलीय व्यवस्था भन्दा लोकतन्त्र वा गणतन्त्र अझ उन्नत व्यवस्था हो ।
बहुदलीय व्यवस्था पुनारागमन पछि अर्थात ४६ साल चैत्र महिना पछि जन्मिएकाहरूले पञ्चयती कालरात्रीको वारेमा खासै जानकारी राख्दैनन् । उनीहरूकालागि जन्मदै स्वतन्त्रता थियो । पञ्चायत कालमा हामी जस्ता साहित्यकारहरूलाई प्रशासनको स्विकृति वेगर कृति प्रकाशन गर्न प्रतिवन्ध थियो ।
अव विचारगर्नुस निरंकूश शासन कस्तो रहेछ ? लोकतन्त्र वा गणतन्त्र उन्नत व्यवस्था हो भने अव एक पटक विचार गरौं बहुदलका लागि लडने लोकतन्त्र गणतन्त्रका लागि लडनेहरूले गरेको गल्ती के थियो र आज सजाय भोग्दैछन् ? के सतहमा आएका आरोपहरू सबै सत्य होलान ? त्यतिवेला ज्यानको बाजि लगाउनेहरूले बाटो विराएकै हुन् ? के खुलेर हामी भन्न सक्छौं ? हामीले केही दिन पहिले सुनेका जस्तै कुरा आज प्रमाणि हुँदै छन् या झुठमुठमा फेरिदैछन् ?
वर्तमान सरकारमा रहनु भएकाहरूले हिंजो सत्तामा पुगेका केही दलका नेताहरूलाई निसाना बनाएर एकपछि अर्कोगर्दै गिरफ्तार गर्ने र वयान लिने काम भइरहेको छ । यसमा कसैको पनि विमति छैन । छानविन सहजै हुनुपर्दछ ।
जसको वारेमा पनि बुझ्न सकिन्छ । तर अहिलेसम्म त्यस्ता घटनामा परेकाहरू जतिजनालाई मुद्दा लगाइयो उहाँहरू सबैजना साधारण तारेखमा रिहा हुनु भएको छ । रिहा हुनुको अर्थ हो प्रमाण फेला नपर्नु । जो कसैलाई पनि कारवाही गर्नका निम्ति सवुत प्रमाण चाहिन्छ । विना प्रमाण कसैमाथि पनि कारवाही गरिदैन र गर्नु पनि हुँदैन । दोष सिद्ध हुने भनेको प्रमाण हो ।
आरोप लाग्दैमा दोषि हुन्छन् भन्ने होइन । यो घटना कतै पूर्वाग्रही ढंगबाट रचना गरियो भन्ने लाग्दछ । दोस्रो यसैमा थप कुरा राख्ने हो भने मुद्दालागेर हिसाशतमा पुगे पछि उनका वारेमा तथानाम कुरा सामाजिक सञ्जालमा लेख्न थालियो ।
भएका कुरा भए त ठिकै हो मतगढन्ते कुरालेखेर समय वर्वाद गर्ने काम पनि भयो । यसको जिम्मा कसले लिने हो ? दिनदहाडै आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्दा वर्तमान सरकारले जिम्मा लिन इन्कार गरेर स्थानीय सरकार र प्रदेश सरकार प्रतिपक्षको छ, त्यसकारण यसको जिम्मेवारी प्रतिपक्षले लिनुपर्छ भनेर सम्मानित सदनमा मुलुकका गृहमन्त्रीले मन्तव्य दिएको सुन्नु परेको छ ।
यस्तो कुरालाई विदेशी मुलुकमा भएको भए के र कसरी विश्लेषण हुन्थ्यो होला ? सुन्दा आफै लाज लागेर आयो ।
यतिवेला नेपालमा दह्रो बहुमतको सरकार आएको छ । यसले पुराना दलहरूले गर्न नसकेका विकास निर्माणका काम यो सरकारबाट हुन्छ भन्ने लागको थियो । तर विपरित तरिकाले सरकार चलेको महसुस भइरहको छ । यो कुनै पूर्वाग्रही भएर भनिएको कुार होइन । सबैले देखेको र भोगेको कुरा हो ।
सयवटा काम गर्नुृ थियो त्यसमा दुई चारवटा मात्र भए बाँकी अरू खाली रहे भने त्यस्तो वेलामा कतिपटक स्यावासी दिने हो ? आज सत्ता पक्षले जतिसुकै चर्को स्वरमा अति वेश काम भएको छ भने पनि त्यो यथार्थको धरातलमा होइन । हावाको महलमा भएका कुरामात्र हुन् । हावाको महलमा के हुँदैन ? तपाई जति कल्पना गर्नुृस त्यति चिजविज हावाको महलमा देख्न सक्नु हुने छ ।
कल्पनाले त जनजीवन फेरिदैन । यदि कल्पनाले जनजीवन फेरिने भए दन्त्य कथाका सोम शर्माको गृहस्थी चम्केको हुनेथियो । सातुको घैंटो फोडनपर्ने थिएन । कुरा यथार्थका गर्नुपर्छ, जति सकिन्छ त्यति गर्ने, जुन उचित हो त्यही गर्ने र हात हालेपछि सफल हुनेगरी हात हाल्ने गर्नुपर्दछ । कुनै पनि कुरा रहरले हुँदैन । चेतना भया ।