© 2026
परिचय–यस ग्रन्थलाई महारामायणको उपाधि दिएपनि यसको विषयवस्तु र सन्दर्भ भने खास रामायाणको बालकाण्डको एकसानो तर महत्वपूर्ण अंश हो । यसको विषयवस्तुको उठान हुँदा मैले महात्मा गौतमबुद्धलाई सम्झेको छु ।
रामलाई र बुद्धलाई वैराग्य आउने सन्दर्भ उस्तैउस्तै परेको छ । राम अलि कलिलो १५ र १६ वर्षको उमेरका छन । अविवाहित पनि । उता बुद्ध अलि परिपक्क उमेरका विवाहित र यौटा छोरासमेत जन्मेको अवस्था ।
रामको मनोभाव बुझ्ने आत्मज्ञानी गुरु वसिष्ठ भएकोले उनी बुद्धझैँ रातीमा भाग्ने अवस्था आएन । गुरु वसिष्ठको अठारदिनको प्रवचनले रामलाई विवेकको पवित्र जलले पखालेर व्यवहारिक सिद्ध बनाउने तारतम्यमा केन्द्रित छ यो पुस्तक ।
पुस्तकमा बाल मनोविज्ञान, किशोर मनोविज्ञानका थुप्रै शिक्षाप्रद प्रसङ्गहरू छन् । पहिलो पुस्तकमा पाँचवटा प्रकरणहरू छन–वैराग्य प्रकरण, मुमुक्षुव्यवहार प्रकरण, उत्पत्ति प्रकरण, स्थिति प्रकरण, उपशम प्रकरण भने दोस्रो पुस्तकमा पूर्वाद्ध र उत्तराद्र्धमा निर्वाण प्रकरण रहेको छ ।
योगवासिष्ठ र शिक्षा सन्दर्भ
१) रामको उमेर १५ र १६ वर्षको हुँदा गुरुवसिष्ठले यो उमेरका बालबालिकालाई विभिन्न ठाउँमा भ्रमण गराउनुपर्छ भनी शैक्षिक भ्रमण (त्यसबेला तीर्थ यात्रा भनिन्थ्यो) गराए । व्यक्तिको आ– आफ्नै खालको अनुभूति शैली हुन्छ । मुण्डेमुण्डे मतिर्भिन्ना ।
भ्रमणपछि भ्रमणका सहभागी अरू शिष्य सबै हाँसी खुसी नै थिए तर राम भने एकान्तमा बस्ने, केही सोचिरहने, मलीन रहने भए । यो त्यस्तै घटना थियो जुन महात्मा बुद्ध बाहिर फेराको भ्रमणमा जाँदा रोगी, वृद्ध, मृतक दुःखीलाई देखेर विरक्तिएका थिए । किशोरावस्थामा हुने मानसिक संवेगलाई राम्ररी बुझेका गुरु वसिष्ठले विभिन्न आख्यान र उदाहरणहरू सुनाएर रामको मनको सन्देह, शङ्का उपशङ्काहरू हटाइदिएका थिए ।
यस प्रसङ्गले शिक्षकले बालबालिकाको मानसिक सम्वेग बुझ्ने हैसियत राख्नुपर्छ भन्ने सन्देश दिन्छ भने शैक्षिक भ्रमणबाट बालबालिकाले वास्तविक संसार बुझ्न पाउँछन भन्नेपनि सिकाउँछ । शिक्षण सिकाइमा शैक्षिक भ्रमणको स्थान महत्वपूर्ण छ भन्ने कुरापनि स्पष्ट हुन्छ । त्यसैगरी आफ्ना बा– आमाले भन्दा शिक्षकहरूले बालबालिकाको मनोदशा राम्ररी बुझेका हुन्छ अथवा बुझ्नुपर्छ भन्ने समेतको शिक्षा दिन्छ ।
२) सामान्यतया शिक्षकको दृष्टि चतुर विद्यार्थीप्रति ज्यादा रहन्छ । त्यो दृष्टिपनि आफूले सिकाएको कुरा कत्तिको सिके भन्नेतर्फ नै बढ्ता केन्द्रित हुने गर्छ । विद्यार्थीहरू कस्ता कस्ता कुरामा चिन्ता वा भनौँ उत्कण्ठा पालेर बसेका हुन्छन भन्ने कुरा यहाँ किशोरावस्थाका प्रतिनिधि रामद्वारा अभिव्यक्त भएको छ । ज्ञान सिकेरमात्र हुँदैन, त्यसलाई त्यसको मर्म अनुसार अर्थ गरिएन, सकारात्मक तरिकाले लिइएन भने झनै खतरनाक बन्न सक्छ । जस्तो भारोविवेकनः शास्त्रेभारोज्ञानंचरागिणः ।
अशान्तस्यमनोभारोभारोऽनात्मविदोवपु ।। १३ ।। ९सर्ग १४ वैराग्य प्रकरण । अविवेकीलाई शास्त्र भार हुन्छ, विषयलम्पटलाई ज्ञान भार हुन्छ, अशान्तलाई मनभार हुन्छ र अज्ञानीलाई आफ्नै देह भार हुन्छ भन्ने कुरा जानेका रामले यदि आफूलाई म विवेकी छु, विषयलम्पटछैन, म शान्त रहन सक्छु र ज्ञानीपनि छु भन्ने चिन्तन आएको भए एकान्तमा बस्ने, झोक्राउने गर्नुपर्ने थिएन ।
यसको विपरीत म अविवेकी छु, विषयलम्पट छु, अशान्त छु र अज्ञानी छु भन्ने सोचले नै त्यसरी झोक्राउनु परेको थियो । यसबाट तीक्ष्ण बुद्धिवालाहरूको विपरीत बुद्धिपनि त्यत्तिकै तीक्ष्ण हुन्छ भन्ने कुरा शिक्षकले थाहापाउनुपर्छ । जसरी वसिष्ठले थाहा पाए ।
अर्को एक सूक्तिमा भनिएको पनि छ– साक्षरा विपरिताश्चराक्ष साइतिनिश्चितम अर्थात पढे गुनेको व्यक्तिको बुद्धि विपरीत भयो भने त्योभन्दा डरलाग्दो राक्षस अर्को हुँदैन । यो कुरा हाम्रै व्यवहारमा हे¥यो भनेपनि ठूला ठूला फट्याइँ गर्ने व्यक्ति निरक्षर होइन पढेगुनेकै हुने गर्छन् । गुरु तथा शिक्षकबाट दिइने असल संस्कारबाट बालबालिकामा यस्तो समस्या आउन पाउँदैन ।
३) आ– आफ्नो मनको डाह, उत्कण्ठा आफ्ना बुबा, आमासँग नभन्नुको किशोर किशोरीको आफ्नै व्याख्या हुन्छ । जहाँ ती कुरा भनेर अवशोषण हुन्छ त्यहाँ भन्न उचित हुन्छ । बाआमासँग यस्ता मनका डाहा पोख्यो भने झन एउटा वनको डढेलो अर्को वनमा सरेजस्तो हुन्छ भनी भन्न रुचाउन्नन् । अलि संयमी बा आमा रहेनछन भने यो कुरा सत्य सावित नहुनपनि हुन्छ ।
त्यसैले रामले आफ्नो बुबालाई यो कुरा नभनी बसेका थिए । जब विश्वामित्रले गाँठी कुरा समातेर सोधपुछ गरे तब राम आफ्नो मनमा लागेको कुरा खलपत्र निखारेर खोले । रामले समाजद्वारा बालबालिकाप्रति, किशोर, युवा, वृद्धवृद्धाप्रति राखिने दृष्टिकोण आफूमा संस्कारित भएकोअवस्थामा अभिव्यक्त गरेकाछन् । उनको बोलीमा त्यसबेलाका समाजको दृष्टिकोण प्रतिविम्वित भएको छ । जुन आजको लागि पनि उत्तिकै मनन योग्य छ ।
राम भन्छन् — वाल्यवस्थामा दुःखकै लागि हो, दुःखी हुनकै लागि हो । शारीरिक कमजोरी, तृष्णा अर्थात जे कुरापनि आफैलाई चाहिने भन्न खोजेको कुरा स्पष्ट पार्न नसकिने अभिव्यक्तिहीनता, तर्कहीन बुद्धि, खेलबाडमा बढ्ता लिप्सा, चञ्चलता, चाहेको कुरा नपाउँदा अत्यन्त दीनभाव, रीस, रोदन, व्याकुलता जस्ता कुराले जकडबन्ध हुन्छ ।
यस्तो पीडा त नयौवनवस्थामा, नवृद्धावस्थामा नरोगले थलिएको अवस्थामा अझ मृत्युशैयामा पनि हुँदैहुन्न । बालककलाई कसैलेपनि सामान्य मानवको व्यवहार पनि गर्दैनन् । निकृष्ट पशुलाई झैँ दुर्दुर्रछिःछिको व्यवहार गर्छन् । अति सानो कुराको प्राप्तिको लागि पनि निकै धेरै रोदन क्रन्दन गर्नुपर्छ । अज्ञानका कारण आगो, पानी, हावा, रुख, भीर, कीट, जनावर आदिबाट घायल वा मरणको भय हुन्छ । सामान्य विचार समेत नगरी काम सुरु गर्ने, काम बिगार्ने, धोखा खाने, यो अवस्था त केवल ठूलाबडाको ताडना सहनकै लागि जस्तो भान हुन्छ ।
कमजोर सहनशक्तिका कारण सामान्य रोगपनि मरणान्त हुने, अनेक आरोप खप्नुपर्ने, बेतुकका विचार आउने यस्तो बाल्यावस्थालाई कोही कसैले राम्रो रमाइलो भन्छ भने त्यसलाई धिक्कार छ । सधै शङ्का उपशङ्कामा रङ्मङाउने, आत्मविश्वास, विवेकहीन यो अवस्थामा सन्तोष भन्ने कुरा त्रिभुवन भरि चाहार्दा पनि पाइन्न ।
सबै प्राणीहरूमा बाल्यावस्था अन्य अवस्था भन्दा दश गुण चञ्चल हुन्छ । मन त सबैको चञ्चल हुन्छ नै । त्यसमा शारीरिक चञ्चलतापनि मिलेपछि अनर्थकारी कामको लागि अरू के थप्नुपर्छ र ? अनि कसले छेक्न सक्छ र ? युवतीको चञ्चल आँखा, बिजुलीको चमचम चमक, आगाको ज्वालाको लपलप, तलाउ सागरका तरङ्गिईरहने लहर, नदीको कलकल, झरनाको झरझर छरछर यी सबैले यही बाल्यावस्थाकै चञ्चलताबाटै सिकेको हुनुपर्छ । मन र बाल्यवस्था त सहोदर भाईबहिनी हुन जस्तो लाग्छ ।
जसको स्थायित्व एकछिन पनि नहुने, तरङ्गिइरहने । सानो कुरामा भुर्तालो मच्चाउने, सानै कुरामा ललिनेफकिने, फोहरमा खेल्न रमाउने, आँसु, कचेरा, ¥याल, सिँघानले सधै रङ्सिएको अनुहार, सुकेको जमिनमा झ्वाम्म पानीपर्दाको हिलो चिप्लोजस्तो, सधैखानको चिन्ता नजिकदेखि टाढाको वस्तुसम्म प्राप्त गर्नको लागि अनावश्यक करकर र रोतरोत, अनेक बाङ्गाटेढा कुराले सताइरहने यस्तो अवस्थामा सुख त सपनामा पनि हुन्न ।
सपनामा देखेको कुरा चाहियो भनी रुनेको आत्म पीडा कति होला ? जब विद्यालय जानुपर्छ तब साङ्लामा बाँधिएको हात्तीको जस्तो अवस्था हुन्छ । नाना किसिमका झूठा कल्पनामा लहरिने, व्यवहारमा कामै नलाग्ने कुरालाई ठूलो ठान्ने व्यक्तिको सामाजिक हैसियत कस्तो होला ? जाडोमा कठ्याङ्ग्रिने गर्मीमा भतभती डढ्ने यो अवस्था बोटबिरुवाको अवस्थाभन्दा कसरी फरक भन्न सकिन्छ र ? गुरु, माता, पिता, अन्य पराइ, आफ्नै खेल समूहका ठूला साथीहरू समेतको डरडरैमा बाँच्नुपर्ने यो अवस्था साँच्चै डरैडरको थुप्रो जस्तो । यस्तो अवस्थापनि कसको लागि प्रियहोला र ? ९सर्ग १९, वैराग्य प्रकरण ।
माथि उल्लिखित रामको भनाइ निकै विश्लेषण योग्य छ । रामलाई कति धेरै कुरा थाहा छ, कति गहिराइसम्म गएर थाहा छ तर सबै नकारात्मक भावले ओतप्रोत छन्, सबै नकारात्मक दिशातिर डोरिएका छन्, सोझिएका छन् । यस्तो अवस्थाका विद्यार्थीलाई सकारात्मक मार्गतिर डो¥याउनु साँच्चै चुनौतीपूर्ण कुरा छ । यो कुरा शिक्षकवर्गले आत्मैदेखि मनन गर्नुपर्छ ।
क्रमशः