Butwal Today

मानव तस्करी रोक्न ध्यान जाओस्

२२ श्रावण २०८३, शुक्रबार
अ+
अ-

भारतको नयाँ दिल्लीमा घर भाडामा लिएर मानव तस्करीमा संलग्न गिरोहलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

खास गरी नेपालका युवतीहरूलाई अनेक प्रलोभन देखाएर भारत पु¥याउने र त्यहाँबाट तेस्रो देश पठाउने नाममा भारतमै यौन धन्धा गर्न बाध्य पार्ने अरू कोही नभएर नेपालीहरूको गिरोह नै रहेको खुलेको छ ।

यो घटनाले नेपालीमा मानवता हराउँदै गएको आभास हुन थालेको छ । मानिसले पैसाका लागि जस्तोसुकै कुकर्म गर्न पनि तयार हुने गरेको यो घटना एक उदाहरण हो । अर्कोतर्फ एउटा अर्को फरक गिरोहले नक्कली ‘वर्क पर्मिट’ बनाएर नेपाली महिलाहरूलाई ठगी गर्ने गरेको सार्वजनिक भएको छ ।

एक तथ्याङ्क अनुसार मानव बेचबिखन तथा गैर कानुनी आप्रवासनमा संलग्न गिरोहले नेपाल, भारत, बंगलादेश, पाकिस्तान र श्रीलङ्काका युवतीलाई मोहजालमा पार्ने, आकर्षक रोजगारीको नारा दिएर लाखौँ असुली समेत गर्दै आएको छ ।

उक्त गिरोहले पर्यटक भिसामा पठाउने र त्यहाँ पुगेपछि काम लगाइदिने प्रलोभन दिने गरेको छ तर पर्यटक भिसामा गएर कुनै पनि किसिमको रोजगारमा संलग्न हुने कार्यलाई गैर कानुनी मानिने वैदेशिक रोजगार विभागले स्पष्ट गरिसकेकोले कोही पनि दुविधामा पर्नुपर्ने अवस्था छैन ।

कुनै पनि देश जानका लागि सम्बन्धित देशको भिसा आवश्यक पर्ने हुँदा दक्षिण अफ्रिकाबाट युरोप, अमेरिका लगायतका देशमा जान सजिलो हुने कुरा भ्रामक र मिथ्या भएकाले त्यस्ता कुराको विश्वास गर्नु हुँदैन । गरिबी, अशिक्षा तथा अनेक कारण कतिपय नेपाली बेला–बेलामा विभिन्न किसिमका बेइमानीका सिकार हुने गरेका छन् ।

यस्तै बेइमानीको आवरणमा मानव तस्करीको नयाँ रूप देखा परेको छ । मानव तस्करी धन्दा अहिले फस्टाएको छ । केही मानव तस्करहरूको मुख्य पेसा नै विदेशमा नेपालीलाई छलछाम गरेर पठाउनु रहेको छ । मानव तस्करी जस्तो डरलाग्दो तथा जघन्य अपराध फस्टाउनु निश्चित रूपमा सबैका लागि चिन्ताको विषय हो ।

सरकारका लागि गम्भीर चुनौती हो र यसले दीर्घकालमा समाजमा डरलाग्दो अवस्था सिर्जना गर्नेछ । अबका दिनमा यस प्रकारका क्रियाकलाप नियन्त्रणमा आम चासो अत्यावश्यक छ । सबैभन्दा पहिला व्यक्ति आफै जोगिनु र होसियार हुनु पहिलो आवश्यकता हो । भारततर्फ खुला सिमानाको प्रयोग गरेर हुने मानव तस्करीले अहिले अन्तर्राष्ट्रिय जालो विस्तार गरिरहेको छ ।

मानव तस्करी पूर्ण रूपमा रोक्न सकिँदैन तर नियन्त्रण गर्न सम्भव छ । तसर्थ अव खबरदारी जरुरी छ । वैदेशिक रोजगारीका नाममा विदेश जान सपना देखाइएका नेपाली आफ्नो गन्तव्यलगायतका विषयसँग पूर्ण अनभिज्ञ रहेको पाइएपछि नै मानव तस्करीको यो अनौठो आपराधिक घटनाको समेत पर्दाफास भएको छ ।

यी घटनाले मानव तस्करीको जालो क्रमिक रूपमा जेलिँदै गएको स्पष्ट हुन थालेको छ । मानवीय तथा सामाजिक दृष्टिकोणबाट निकै निन्दनीय यो कार्य रोक्न निकै जरुरी छ । मानिसको जीवनसँग उसको घरपरिवार, राष्ट्र तथा समाजको सम्बन्ध गाँसिएको हुन्छ । निज कुनै किसिमले प्रभावित भएमा ऊसँग सम्बन्धित पक्षहरूसमेत प्रभावित हुनु स्वाभाविक छ ।

मानव तस्करी नियन्त्रणमा प्रहरीको भूमिका महत्त्वपूर्ण हुनेमा शङ्का छैन । यसका लागि प्रहरीले निकै सक्रियतापूर्वक आफ्नो भूमिका निर्वाह गर्नुको विकल्प पनि छैन । मानव तस्करीका आशङ्का गरिएका अधिकांश व्यक्ति ‘भिजिट भिसा’ मा विदेश जाने गरेको पाइएकाले विमानस्थल अध्यागमन कार्यालयले यसबारेमा सूक्ष्म तथा गहन अध्ययन गर्नु अत्यावश्यक छ ।

खास गरी भारतीय प्रहरीले अहिलेसम्म खेलेको भूमिका अत्यन्त सराहनीय छ । भारतीय प्रहरीले यस प्रकारका धेरै घटनामा संलग्नहरूलाई पक्राउ समेत गरेर सहयोग गर्दै आएको छ । पछिल्लोपटक बढिरहेको मानव तस्करी नियन्त्रणमा सरकारको गंभीर ध्यानाकर्षण जरुरी छ । नेपाल भारत सिमावर्ती क्षेत्रमा निगरानी गर्ने हो भने धेरै घटनाको पटाक्षेप हुने भएकोले सरकारको ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?