Butwal Today

युवाको राजनीतिक सहभागिता नारामा सीमित हुनु हुँदैन: पूर्व राष्ट्रपति भण्डारी

३१ श्रावण २०८३, आइतबार
अ+
अ-

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा युवाहरूको सहभागिता केवल नारामा सीमित हुन नहुने बताएकी छन् ।

जननेता मदन भण्डारीको विचारसँग आबद्ध विद्यार्थीहरूको संस्था मदन भण्डारी आइडियोलोजी स्टुडेन्ट फोरमले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले युवाहरूको राजनीतिक सहभागिता अर्थपूर्ण र रचनात्मक हुनुपर्ने बताएकी हुन् ।

‘राजनीतिमा युवाहरूको सहभागिता केवल नारामा सीमित हुनु हुँदैन । राजनीति निर्वाचनका बेला मत माग्ने वा दिने विषय मात्र होइन’, भण्डारीले भनिन् ।

उनका अनुसार राजनीति समाजलाई बुझ्ने, जनताको आवाज सुन्ने, नीति निर्माणमा आफ्नो भूमिका खोज्ने तथा देशको विकास र परिवर्तनमा रचनात्मक योगदान गर्ने निरन्तर प्रक्रिया हो ।

पूर्व राष्ट्रपति भण्डारीले मदन भण्डारीको राजनीतिक यात्राबाट आजको पुस्ताले महत्त्वपूर्ण कुरा सिक्न सक्ने बताउँदै राजनीति जनताबाट अलग भएर गर्न नसकिने उल्लेख गरिन् ।

‘मदन भण्डारीले जनताको भावना, आकाङ्क्षा र वास्तविकतालाई राजनीतिक विचारसँग जोड्ने प्रयास गर्नुभयो’, उनले भनिन् ।

मदन भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिक प्रक्रियासँग जोड्दै जनताको बहुदलीय जनवाद ९जबज० को अवधारणा अघि सारेको स्मरण गर्दै भण्डारीले लोकतन्त्रलाई निर्वाचनमा मात्र सीमित नराखी जनताको सार्वभौमिकता, राजनीतिक स्वतन्त्रता, मानव अधिकार, बहुदलीय प्रतिस्पर्धा, सामाजिक न्याय र जनसहभागितासँग जोडेर हेर्नुपर्ने बताइन् ।

‘आजको पुस्ताले मदन भण्डारीका विचारलाई जस्ताको तस्तै दोहोर्‍याउनेभन्दा त्यसको मूल मर्मलाई आत्मसात् गर्दै आजको बदलिँदो समय र नयाँ पुस्ताका आवश्यकता र सम्भावनाअनुसार अघि बढ्ने बाटो खोज्नुपर्छ’, उनले भनिन् ।

देशमा परिवर्तनका धेरै अपेक्षा रहेको उल्लेख गर्दै पूर्व राष्ट्रपति भण्डारीले युवा पुस्तामा रहेको ऊर्जा, नयाँ सोच र केही नयाँ गर्ने हुटहुटीलाई सकारात्मक परिवर्तनमा रूपान्तरण गर्नुपर्नेमा जोड दिइन् ।

‘आज देशमा परिवर्तनका धेरै अपेक्षा छन् । युवा पुस्तामा ऊर्जा छ, नयाँ सोच छ र केही नयाँ गर्ने हुटहुटी छ । यही ऊर्जा, सोच र उत्साहलाई देश र समाजको सकारात्मक परिवर्तनमा रूपान्तरण गर्न आवश्यक छ’, उनले भनिन् ।

उनले युवाहरूलाई आफ्ना आकाङ्क्षालाई सृजनशील प्रयासमा बदल्दै सुधारका सम्भावना खोज्न र रचनात्मक परिवर्तनमा योगदान गर्न अघि बढ्न आग्रह गरिन् ।

देशको भविष्य अरू कसैले बनाइदिने नभई त्यसको जिम्मेवारी युवा पुस्ताकै भएको बताउँदै भण्डारीले युवाहरू लोकतन्त्रप्रति प्रतिबद्ध, सामाजिक न्यायप्रति संवेदनशील, राष्ट्रिय हितप्रति सचेत, अध्ययनशील र जिम्मेवार नागरिक बन्नुपर्नेमा जोड दिइन् ।

‘तपाईँहरू लोकतन्त्रप्रति प्रतिबद्ध, सामाजिक न्यायप्रति संवेदनशील, राष्ट्रिय हितप्रति सचेत, अध्ययनशील र जिम्मेवार नागरिक बन्न सक्नुभयो भने नेपालको भविष्यप्रति आशावादी हुने पर्याप्त आधार रहन्छ’, उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?