© 2026
हरेक वर्ष अगस्त १२ मा विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ। संयुक्त राष्ट्र सङ्घले यो दिवसलाई युवाको क्षमता, सृजनशीलता र नेतृत्वलाई सम्मान गर्ने अवसरका रूपमा स्थापित गरेको हो ।
विभिन्न देशले यस दिनलाई केवल औपचारिक कार्यक्रमका रूपमा मात्र होइन, युवाका समस्या, सम्भावना र नीतिमाथि गम्भीर समीक्षा गर्ने अवसरका रूपमा पनि लिन्छन् । तर नेपालमा भने अन्तर्राष्ट्रिय युवा दिवसको चर्चा हुने बित्तिकै एउटा गम्भीर प्रश्न उठ्छ । देशका युवाले आफ्नै भूमिमा आफ्नो भविष्य किन देख्न छाडेका छन् ?
नेपाल प्राकृतिक स्रोतले सम्पन्न देश हो । उर्वर भूमि छ । प्रशस्त जलस्रोत छ। पर्यटनको अथाह सम्भावना छ । कृषि, सूचना प्रविधि, उद्योग, जलविद्युत्, जडीबुटी र सेवा क्षेत्रमा असङ्ख्य अवसर छन् । तर विडम्बना, यी सम्भावनालाई वास्तविकतामा बदल्ने जनशक्ति भने दिनप्रतिदिन बिदेसिन बाध्य छ ।
आज नेपालमा सबैभन्दा बढी निर्यात हुने वस्तु कुनै उत्पादन होइन । सबैभन्दा ठुलो निर्यात नेपाली युवा जनशक्ति नै बनेको छ । एक समय थियो, गाउँका खेतबारी युवाको पसिनाले हराभरा हुन्थे। विद्यालयबाट फर्किएका युवाले खेतीमा सघाउँथे। गाउँमा मेलापात, विकास निर्माण र सामाजिक गतिविधिमा युवाको अग्रसरता देखिन्थ्यो।
आज त्यही गाउँमा वृद्ध वृद्धा र बालबालिका मात्र देखिन्छन् । खेत बाँझा छन् । घरमा ताला लागेको छ । गाउँका विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएको छ । बजार सुनसान बन्दै गएका छन् । यो केवल जनसङ्ख्याको परिवर्तन होइन । यो राष्ट्रको उत्पादनशील शक्तिको पलायन हो । आजको यथार्थ झन् चिन्ताजनक छ ।
यदि कुनै माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १० का विद्यार्थीलाई, “तिम्रो सपना के हो?“ भनेर सोधियो भने धेरैको उत्तर हुन्छ, “जापान जाने, कोरिया जाने, अष्ट्रेलिया जाने, क्यानडा जाने वा युरोप जाने । “उनीहरूको सपना आफ्नै गाउँमा उद्योग खोल्ने, आधुनिक किसान बन्ने, वैज्ञानिक बन्ने वा नेपालमै रोजगारी सिर्जना गर्नेभन्दा पहिले विदेश पुग्ने बनेको छ।
एउटा राष्ट्रका युवाको सपना आफ्नै देशभन्दा बाहिर केन्द्रित हुन थालेपछि त्यो राष्ट्रले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ । यसले एउटा गम्भीर प्रश्न जन्माएको छ । के नेपाल जनशक्ति उत्पादन गरेर विदेश पठाउने कारखाना मात्र हो ? के हाम्रो शिक्षा प्रणालीको अन्तिम गन्तव्य विदेशी श्रम बजारका लागि कामदार उत्पादन गर्नु मात्र हो ?
यदि यही अवस्था रहिरह्यो भने देशको विकासको आधार कसले निर्माण गर्ने? उद्योग कसले चलाउने? कृषि कसले गर्ने ? अनुसन्धान कसले गर्ने ? राष्ट्र निर्माणको जिम्मेवारी कसले बहन गर्ने ? नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको योगदान महत्वपूर्ण छ भन्ने तथ्य अस्वीकार गर्न सकिँदैन। लाखौँ परिवारको दैनिकी विदेशमा पसिना बगाउने युवाले पठाएको पैसाले धानेको छ। पक्की घर बनेका छन् । छोराछोरीले राम्रो शिक्षा पाएका छन् । स्वास्थ्य उपचार सहज भएको छ ।
धेरै परिवार गरिबीबाट माथि उठेका छन् । तर रेमिट्यान्सलाई स्थायी विकासको आधार मान्नु ठुलो भूल हुनेछ । एउटा उदाहरण हेरौँ । एउटा परिवारमा चार जना सदस्य छन्। परिवारको एक जना युवा विदेशमा काम गर्छ । उसले महिनाको एक लाख रुपैयाँ कमाउँछ र करिब ९० हजार रुपैयाँ नेपाल पठाउँछ ।
विभिन्न शुल्क कटाएर परिवारको हातमा करिब ८५ हजार रुपैयाँ पुग्छ । त्यसपछि नेपालमा रहेका परिवारका अन्य सदस्य नियमित आय प्राप्त गरिरहेका हुन्छन् । यस्तो अवस्थामा उनीहरू उत्पादनमूलक कामतर्फ आकर्षित हुने सम्भावना कम हुन्छ । यसरी उपभोग बढ्छ तर उत्पादन बढ्दैन । आय बढेझैँ देखिए पनि त्यो उत्पादनबाट आएको आय होइन।
देशभित्र वस्तु तथा सेवाको उत्पादन नबढेसम्म कुल गार्हस्थ्य उत्पादन र दीर्घकालीन आर्थिक समृद्धि सम्भव हुँदैन । केवल रेमिट्यान्सका आधारमा अर्थतन्त्र चलाउनु भनेको आफ्नै खुट्टामा उभिन नसक्ने अर्थतन्त्र निर्माण गर्नु हो । अर्थशास्त्रको सामान्य सिद्धान्तले पनि उत्पादन, रोजगारी र उत्पादकत्व नै आर्थिक विकासको आधार मान्छ ।
आयात बढ्ने, उत्पादन घट्ने र उपभोग मात्र बढ्ने अर्थतन्त्र धेरै समयसम्म टिकाउ हुन सक्दैन । त्यसैले रेमिट्यान्सलाई अवसरमा रूपान्तरण गर्नु आवश्यक छ ।
विदेशबाट आएको पूँजी उद्योग, कृषि, पर्यटन, ऊर्जा र उद्यमशीलतामा लगानी हुन सके मात्र त्यसको वास्तविक लाभ देशले पाउन सक्छ । युवा पलायनको अर्को कारण राजनीतिक नेतृत्वप्रतिको घट्दो विश्वास पनि हो। हरेक निर्वाचनमा राजनीतिक दलहरूले युवालाई देशमै रोजगारी दिने, विदेश पलायन रोक्ने, उद्योग खोल्ने र उद्यमशीलतालाई प्रोत्साहन गर्ने वाचा गर्छन्।
चुनाव सकिएपछि ती वाचा भाषणमै सीमित हुन्छन्। दल फरक भए पनि प्रवृत्ति उस्तै देखिन्छ । सरकार फेरिन्छ। मन्त्री फेरिन्छन्। घोषणापत्र फेरिन्छ। तर युवाको अवस्था भने उस्तै रहन्छ ।
यस सन्दर्भमा कुनै एक व्यक्ति वा दललाई मात्र दोष दिएर समस्या समाधान हुँदैन । उदाहरणका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सार्वजनिक कार्यक्रममा आफ्नै नेतृत्वको सरकार बनेको एक सय दिनभित्र विदेशमा रहेका नेपाली युवालाई स्वदेश फर्काउने, विदेशका विभिन्न स्थानमा सूचना अभियान सञ्चालन गर्ने र रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यस्ता अभिव्यक्ति जनतामा आशा जगाउने खालका थिए। तर अपेक्षा र कार्यान्वयनबीच ठुलो अन्तर देखियो ।
यो अवस्था केवल एउटा दल वा नेताको होइन। विगतदेखि आजसम्म अधिकांश राजनीतिक दलले युवालाई आकर्षित गर्ने ठूला घोषणा गरेका छन्। तर परिणाम भने अपेक्षाअनुसार आउन सकेको छैन। यही कारण युवामा राजनीतिप्रतिको विश्वास क्रमशः कमजोर बन्दै गएको छ । लोकतन्त्रमा जनताले भाषण होइन, परिणाम खोज्छन् ।
रोजगारीको अवसर, उद्यम गर्न सहज वातावरण, गुणस्तरीय शिक्षा, अनुसन्धानमा लगानी र निष्पक्ष प्रतिस्पर्धा नै युवाले खोजेको भविष्य हो । नाराले पेट भरिँदैन । घोषणाले सपना पूरा हुँदैन । त्यसका लागि इमानदार कार्यान्वयन आवश्यक हुन्छ । नेपालसँग सम्भावना नभएको होइन ।
कृषि आधुनिकीकरण गर्न सकिन्छ । सूचना प्रविधिको विश्वव्यापी बजारमा नेपाली युवा प्रतिस्पर्धा गर्न सक्षम छन् । पर्यटन क्षेत्रमा लाखौँ रोजगारी सिर्जना गर्न सकिन्छ । जलविद्युत्, हरित ऊर्जा, जडीबुटी, उत्पादनमूलक उद्योग र स्टार्टअप क्षेत्रमा राज्यले स्पष्ट नीति र लगानीको वातावरण निर्माण गर्न सके विदेश जाने धेरै युवा आफ्नै देशमा अवसर खोज्न तयार हुनेछन् ।
सरकारले विश्वविद्यालयको शिक्षा र श्रम बजारबीचको दूरी घटाउनुपर्छ । प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकता दिनुपर्छ । नयाँ उद्योग खोल्ने युवालाई कर छुट, सहुलियतपूर्ण ऋण र प्रविधि सहयोग उपलब्ध गराउनुपर्छ ।
स्थानीय तहले आफ्ना क्षेत्रमा आधारित रोजगारी सिर्जना गर्ने योजना बनाउनुपर्छ । निजी क्षेत्रले पनि युवालाई कम लागतको श्रमिक होइन, दीर्घकालीन साझेदारका रूपमा हेर्नुपर्छ । युवाको पनि उत्तिकै ठुलो दायित्व छ। विदेश जानु अपराध होइन। आफ्नो क्षमता विकास गर्नु गलत होइन ।
तर अवसर पाए आफ्नै देशमा योगदान गर्ने सोच पनि आवश्यक छ । सीप सिक्ने, उद्यम गर्ने, अनुसन्धान गर्ने, समाजसेवामा सहभागी हुने र लोकतान्त्रिक प्रक्रियामा सक्रिय रहने जिम्मेवारी युवाकै हो। राष्ट्र निर्माण सरकार एक्लैले गर्न सक्दैन । त्यसका लागि राज्य, निजी क्षेत्र, शैक्षिक संस्था र युवाबीच सहकार्य आवश्यक हुन्छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको वास्तविक सन्देश पनि यही हो । युवालाई केवल भविष्यको कर्णधार भनेर सम्बोधन गर्नु पर्याप्त छैन । उनीहरूलाई वर्तमानको नीति, योजना र विकासको केन्द्रमा राख्नुपर्छ । जबसम्म नेपाली युवाले आफ्नै देशमा सम्मानजनक अवसर देख्दैनन्, तबसम्म विदेश जाने लहर रोकिने छैन । हामीले अब एउटा निर्णय गर्नैपर्छ ।
हामी जनशक्ति निर्यात गर्ने राष्ट्र बन्ने कि जनशक्तिको ज्ञान, सीप र ऊर्जालाई आफ्नै देशको समृद्धिमा प्रयोग गर्ने राष्ट्र बन्ने? यसको उत्तर आजका नीति निर्माता, राजनीतिक नेतृत्व र हामी सबैले दिनुपर्छ । किनभने युवालाई गुमाउने राष्ट्रले आफ्नो भविष्य पनि गुमाउँछ। युवालाई अवसर दिने राष्ट्रले भने समृद्धिको नयाँ इतिहास लेख्छ ।