Butwal Today

भदौ ३ गतेभित्र विश्वासको मत लिँदै मुख्यमन्त्री बानियाँ

२३ श्रावण २०८३, शनिबार
अ+
अ-

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। शनिबार काठमाडौंमा बसेको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री बानियाँले भदौ ३ गतेभित्र विश्वासको मत लिने निर्णय गरेको हो। संवैधानिक व्यवस्थाअनुसार उनले भदौ ४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्नेछ।

सत्ता साझेदार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका छन्। सरकार जोगाउन कांग्रेसलाई अन्य साना दलहरूको समर्थन आवश्यक पर्ने देखिएको छ। यसैबीच, विश्वासको मत लिनुभन्दा एक दिनअघि हेटौँडा उपस्थित हुन कांग्रेस संसदीय दलले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ।

कांग्रेस संसदीय दलका सचिव मीनकृष्ण महर्जनका अनुसार मुख्यमन्त्री बानियाँलाई विश्वासको मत जुटाउने विषयमा पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत शीर्ष नेतासँग छलफल गरिनेछ। साथै, अन्य दलका नेतृत्वसँग समेत समन्वय र छलफल गर्ने निर्णय बैठकले गरेको छ।

एमालेले कांग्रेससँगको गठबन्धन तोडेर नेकपासँग नयाँ सरकार गठनका लागि साझेदारी गरेपछि बागमती प्रदेशमा सत्ता समीकरण थप पेचिलो बनेको छ। कांग्रेस साना दलको समर्थन जुटाएर सरकार टिकाउने प्रयासमा छ भने एमाले–नेकपा गठबन्धनको सरकार गठनको अवस्था पनि अझै स्पष्ट भइसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?