© 2026
वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले मनसुनजन्य विपद्को जोखिम बढ्दै गएको भन्दै विशेष पूर्वतयारी र उच्च सतर्कता अपनाउन सबै नागरिकसँग आग्रह गरेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले आज सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार अत्यधिक वर्षाका कारण नदीमा पानीको बहाव बढ्ने र होचा भूभाग डुबानमा पर्ने उच्च जोखिम रहेकाले प्रभावित क्षेत्रका बासिन्दालाई सचेत रहन अपिल गरेको हो ।
समितिले विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सुरक्षित आश्रयस्थल र खुला क्षेत्रको पहिचान गर्न तथा मौसम पूर्वानुमान महाशाखाको आधिकारिक बुलेटिन र सञ्चारमाध्यमबाट प्रसारित सूचनाको नियमित जानकारी लिन आग्रह गरेको छ ।
प्रशासनले नागरिकता, जग्गाधनी प्रमाणपत्र, शैक्षिक प्रमाणपत्रलगायत महत्त्वपूर्ण कागजात तथा नगद सुरक्षित स्थानमा राख्न पनि अनुरोध गरेको छ । साथै आकस्मिक अवस्थाका लागि सुक्खा खानेकुरा, अत्यावश्यक औषधि र स्वच्छ पिउने पानीसहितको आपत्कालीन झोला ९इमर्जेन्सी ब्याग० तयारी अवस्थामा राख्न सुझाव दिएको छ ।
मनसुनजन्य विपद्को अवस्थामा उद्धार, खोज तथा राहतका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल वा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, पर्सामा २४सै घण्टा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ ।