Butwal Today

सरकारद्वारा हिम पहिरोमा निधन भएका आरोहीप्रति दुःख व्यक्त

१७ श्रावण २०८३, आइतबार
अ+
अ-

काठमाडौँ । नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ब्रोड पीक आरोहणका क्रममा साउन १४ गते क्याम्प–२ बाट क्याम्प–३ जाने क्रममा गएको हिम पहिरोमा परी आरोहीहरूको निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत उक्त दुर्घटनामा प्रख्यात आरोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित नेपाली आरोहीहरू पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा तथा उनीहरूसँगै ब्रोड पीक आरोहणमा रहेका अन्तर्राष्ट्रिय टोलीका सदस्यहरूको दुःखद निधनबाट पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति पुगेको जनाएको छ ।

नेपाली आरोहीहरू संलग्न टोली बेपत्ता भएको खबर प्राप्त हुनासाथ पाकिस्तानका सम्बन्धित निकाय तथा नेपाली टोलीले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले उच्च हिमाली क्षेत्रमा कठिन खोज तथा उद्धार कार्यमा संलग्न पाकिस्तानी र नेपाली पर्वतारोही टोलीको साहसिक प्रयासको सराहना गरेको छ ।

दुर्घटनामा निधन भएका नेपाली आरोहीहरूमध्ये पुरबहादुर गुरुङ ‘युक्ता’ र ग्यालु शेर्पाको शव फेला परिसकेको छ भने बाँकी आरोहीहरूको खोजी कार्य निरन्तर जारी रहेको मन्त्रालयले जनाएको छ । साथै, नेपाली आरोहीहरूको शव स्वदेश फिर्ता ल्याउन नेपालका लागि इस्लामाबादस्थित नेपाली राजदूतावासमार्फत आवश्यक सहजीकरण भइरहेको जानकारी पनि दिइएको छ ।

मन्त्रालयले दिवङ्गत आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?