© 2026
वीरगञ्ज (पर्सा)। प्रहरीले झैझगडामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका–२ ईदगाहा चोकस्थित भित्री सडकखण्डमा बस्ने १८ वर्षीय समीर अन्सारीले विगतको व्यक्तिगत विवादका कारण झैझगडा गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगञ्ज महानगरपालिका–१६ इनरुवागाउँका १८ वर्षीय रञ्जित यादवलाई हातपात गर्दा उनको ओठ र नाकमा चोट लागेको छ ।
घटनामा संलग्न अन्सारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । घाइते यादवको प्रभु अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच, घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर सूक्ष्म अनुसन्धान भइरहेका बेला विभिन्न सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सामाजिक सद्भाव बिथोल्ने किसिमका समाचार प्रसारण भइरहेको भन्दै प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
घटनाको सत्यतथ्य पत्ता लगाई संलग्न व्यक्तिमाथि कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । साथै धार्मिक सद्भाव कायम राख्न, सही समाचार सम्प्रेषण गर्न र आवश्यक सहयोग पुर्याउन सबै सञ्चारकर्मी तथा समुदायलाई प्रहरीले आग्रह गरेको छ ।