© 2026
वि.स. २०८२ बैशाख १ देखि २०८३ असार २४ सम्म देशभरिमा विपदका १९०४ वटा घटनाहरू भए । उक्त घटनाहरूमा परेर १३९ जनाले जान गुमाए, ६५१७ परिवार प्रभावित भए भने ३४ करोड बराबरको धनमालको क्षति भयो ।
नेपालमा मनसुन प्रवेश गरेको ३ साता भैसक्दा भैसक्दा पनि पानी पर्न सकेको छैन । पानी नपर्दा गर्मी बढेको त छ नै, रोपाँईमा समेत समस्या भैरहेको छ । अहिले पानी नपरेकोले विपदका घटनाहरू त्यति सुनिएका छैनन्, तर विगतका घटनाहरूलाई हेर्दा असोज महिनासम्म पनि मनसुन सक्रिय रहने र नेपालमा प्राकृतिक प्रकोपका घटनाहरू धेरै हुने गरेका छन् ।
हरेक वर्ष दोहोरिने यस्ता घटनापछि घरखेत विहीन भएका, सम्पत्ति गुमाएर विपन्न बन्न पुगेका र सुकुम्बासी बनेर खोला र वन क्षेत्रमा झुपडी बनाएर बसेकाहरूको कारुणीक कथा हेर्न र सुन्न पाइन्छ । संसारभरी नै गरिवी र विपद जोडिएर आएको पाइन्छ ।
गरिबी धेरै भएको ठाउँमा विपदका घटनाहरू धेरै हुने, विपदपछि धेरै गरिबहरू प्रभावित हुने र गरिबहरूका कतिपय गतिविधिहरूले नै विपदलाई आमन्त्रण गर्ने हुनाले विपद र गरिबी जोडिएर आउने गरेको देखिन्छ ।
विपद जोखिम न्यूनीकरण सम्बन्धि संयुक्त राष्ट्रसंघीय कार्यालय (युएनडीआरआर) का अनुसार सन् १९९८ देखि हालसम्म आएका विपदका घटनाहरूमध्ये ८७ प्रतिशत प्राकृतिक विपद न्यून आय भएका राष्ट्रहरूमा आएका छन् । विपदबाट भएको कूल आर्थिक क्षतिको १३ प्रतिशत मात्र गरिब राष्ट्रहरूमा भएको छ । विश्वमा प्रति १० लाख जनसंख्यामा १३० जना विपदबाट मर्ने गरेकोमा धनी राष्ट्रहरूमा यो संख्या प्रति दश लाख १८ जना मात्र रहेको छ ।
गरिवीको लघुक्षेत्र अनुमान २०८२ अनुसार गरिबीको दरको बढी दर भएका दश जिल्लाहरू सबै बुटवलदेखि पश्चिमका छ । बहुआयामिक विपद जोखिम नक्शांकन अनुसार नेपालका उच्च विपद जोखिममा भएको १० वटा जिल्लाहरूमध्ये ८ वटा राप्ती पश्चिमका छन । गरिवीको दर उच्च रहेका जिल्लाका वासिन्दाहरू व्यवस्थित र सुरक्षित बसोबासको व्यवस्था गर्न कम सक्षम हुन्छन् ।
त्यसैले उनीहरू सस्तो र निशुल्क जग्गाको खोजी गर्ने क्रममा बाढी, पहिरो, डुबान हुने क्षेत्रमा बसोबास गर्न बाध्य हुन्छन् । यिनै कारणले बाढी पहिरो जाँदा गरिब वस्तीहरू बढी प्रभावित हुने गरेका छन् । सुरक्षित र वातावरणमैत्री आवास निर्माण गर्न नसक्ने भएकोले भारी वर्षा, हावाहुरी, शितलहर र आगलागीबाट गरिबहरूले बढी क्षति बेहोर्नुपरेको देखिन्छ । बाढी, पहिरो जस्ता प्रकोपले जमिनको उत्पादकत्व, पानीका श्रोत, सिचाई प्रणाली, पशु चरणमा क्षति पुग्छ । यसबाट गरिबहरू नै बढी प्रभावित हुन्छन् ।
प्रकोपको कारणले रोजगार गुमाउनेहरूमा गरिब समूहका सदस्यहरू नै बढी हुने गर्छन । चाहे प्रकोप जहाँसुकै आओस वा जस्तोसुकै आओस, सबै किसिमले बढी पीडित हुने समूह गरिब नै हो ।
प्राकृतिक श्रोत साधन प्रयोग गर्न नपाएकाहरू गरिव बन्दै जान्छन् र उनीहरूबाटै प्रकृति बढी जोखिममा पर्दछ भन्ने आरोप गरिवहरू माथि लागिरहन्छ । वातावरण र विकास सम्बन्धि विश्व आयोगले सन् १९८९ मा तयार गरेको हाम्रो साझा भविष्य नामक प्रतिवेदन तथा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको प्रतिवेदन जियो २००० ले गरिवीलाई वातावरण विनासको मुख्य कारक तत्व मानेका छन् ।
पछिल्लो समयमा यो अवधारणाको आलोचना भैरहेको भएपनि गरिवहरूले बाँच्नको लागि न्यूनतम मात्रामा प्राकृतिक श्रोतको उपयोग गर्ने क्रममा बाध्यताले गर्दा विपदमुखी कार्यमा गरिबहरूको संलग्नता बढी हुने गर्छ । अहिलेपनि धेरै सुकुम्बासी बस्तीहरू खोला नदीकै किनारामा छन् । केही अपवादलाई छोड्ने हो भने नदी किनारा अतिक्रमण गर्दै बस्ने, खेतीपाती गर्नेहरू गरिब परिवारकै हुन्छन् ।
जग्गा जमिन नभएको कारणले गर्दा जोखिमयुक्त स्थानमा खनजोत गर्ने, खेतीपाती गर्ने काम गर्नु गरिबको लागि बाध्यता हुन्छ । गरिबलाई नै अघि सारेर धनीहरूले नदीजन्य पदार्थ, खानी र वन दोहन गरिरहेका हुन्छन् । यस्ता गतिविधिहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बाढी पहिरोलाई निम्ता पुगेको हुन्छ । राम्रो घाँस र दाउराको लागि, जनावर मार्नको लागि र झाडी सफा गर्नको लागि वनमा आगो लगाउने काममा गरिब र बेरोजगारहरूको संलग्नता धेरै हुन्छ । यसले वन डढेलोका घटना बढ्नुमा महत्वपूर्ण भुमिका खेलिरहेको हुन्छ ।
नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको वर्ष कुनै न कुनै किसिमका प्रकोपहरू आइरहने भएकोले नेपालका गरिबहरू कहिल्यै माथि उठ्न नसक्ने गरि थिचिएका छन् । नेपालका अघिकांश गरिबहरूको हातमुख जोर्ने उपाय ज्याला मजदुरी र कृषि हो । यी दुवै क्षेत्र प्रकोपबाट बढी प्रभावित हुने गरेका छन् ।
बाढी, पहिरो, खडेरीले खेती लगाउन नपाउने, बालीनाली हुर्काएर उत्पादन लिन नसक्ने, पशु चरण र आहाराको व्यवस्था गर्न नसक्ने र बल्लतल्ल उत्पादन गरिहालेपनि बजारसम्म पु¥याएर आर्थिक लाभ लिन नसक्ने भएकोले कृषि पेशामा संलग्न गरिबहरू प्रकोप बढेसंगै बढ्ने गरेको देखिन्छ । प्रकोपपछि सरकारले दिने केही राहतले २/४ छाक खान पुग्ने भएपनि प्रकोपको कहरमा परेपछि त्यसबाट तत्कालमा बच्नको लागि गरिबहरूले ऋण लिन बाध्य हुन्छन । जसले उनीहरूलाई गरिबीको दुष्चक्रबाट कहिले माथि उठ्न दिदैन ।
नेपाल कमजोर भौगर्भिक तथा भू–धरातलीय बनोट, मौसमी विषमता तथा जलवायु परिवर्तन, निरन्तर दोहोरिने बहु–प्रकोपको घटना, अब्यवस्थित तथा जोखिम असम्बेदनशील विकास निर्माण कार्यको कारणले विभिन्न किसिमका प्राकृतिक विपदको उच्च जोखिममा रहेको छ ।
हरेक वर्ष दोहोरिने प्रकोपका घटनाहरूले नेपालको भौतिक, आर्थिक र सामाजिक विकासमा प्रतिकुल प्रभाव पारिरहेको छ । नेपालमा विपद आइसकेपछि उद्धार र पुनर्निर्माणका कामहरू हुने गर्छन तर गरिबीसंग जोडेर विपदसंग लड्न पूर्व तयारी र विपदपछि गरिबीको अवस्था आउन नदिने वैकल्पिक उपायहरूको बारेमा खोजी हुने गरेको छैन् । नेपालमा गरिबी– विपद– गरिबी चक्रमा घुमिरहेका छन् ।
त्यसैले विपद व्यवस्थापनका योजना र कार्यक्रमहरू बनाउँदा गरिबीलाई पनि जोडेर बनाउनु पर्छ । गरिबीको कारणले विपदमुखी गतिविधि हुन नदिन र विपदपछि गरिब बन्ने अवस्था आउन नदिनको लागि गरिवी न्यूनीकरण, स्थानीय रोजगारी र विपद जोखिम न्यूनिकरणका कार्यक्रमहरू एकीकृत रूपमा अघि बढाउनुपर्छ ।