© 2026
पछिल्लो एक दशकमा नेपालमा सामाजिक सञ्जालको पहुँच र प्रभावमा भएको तीव्र विस्तारले हाम्रो सामाजिक, राजनीतिक र आर्थिक संरचनामा अभूतपूर्व परिवर्तन ल्याएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार देशका झन्डै ७५ प्रतिशतभन्दा बढी नागरिकको हातमा स्मार्टफोन र इन्टरनेटको पहुँच पुगिसकेको छ । विद्युतीकरणको तीव्र विस्तार र सस्तो डाटा प्याकेजले सूचनाको लोकतान्त्रिकरणको ढोका त खोल्यो, तर सँगै एउटा डरलाग्दो सामाजिक विकृतिलाई पनि मलजल ग¥यो ।
आज सूचना प्रविधिले ज्ञानको ज्योति छर्नुको साटो समाजमा अराजकता फैलाउने, चरित्र हत्या गर्ने र निहित स्वार्थ पूरा गर्ने हतियारको रूपमा प्रयोग भइरहेको छ । सुरुवातमा मनोरञ्जन र सञ्चारको माध्यम बनेको सामाजिक सञ्जाल अहिले पैसा कमाउने र शक्ति प्रदर्शन गर्ने ’खतरनाक खेल’ मा परिणत भएको छ । ‘लाइक’ र ’भ्युज’ को भोको जमातले सामाजिक मूल्य–मान्यता र नैतिकताको धरातललाई पूर्णतः बेवास्ता गर्दै गएको छ ।
सामाजिक सञ्जालमा मौलाएको यो अराजकताको एउटा पाटो सरकारी कार्यालयमा अनुमति बिना छिर्ने, कर्मचारीलाई धम्काउने र आफूलाई पत्रकार तथा लेखकको दर्जामा राखेर पैसा असुल्ने प्रवृत्ति हो । कतिपयले त भिडियो बनाउने र पैसा नदिए सामाजिक सञ्जालमा पोस्ट गर्ने धम्की दिएरै लाखौँ कमाएका छन् ।
यिनीहरू आफूलाई देश र विदेशका राजनीतिदेखि अर्थतन्त्रसम्मका ज्ञाता मान्छन्, तर राज्यलाई कर तिर्ने दायित्वबारे यिनीहरूलाई कुनै हेक्का छैन । कानुनको पालनाबारे कुनै कुनै ज्ञान छैन । यसको चरम रूप धुर्मुस–सुन्तली फाउन्डेसन र तिनका सञ्चालक सिताराम र कुन्जनाको सन्दर्भमा देखियो, जसले समाजसेवाको नाममा देशको बहु वर्षीय योजनाको रङ्गशाला एक्लै बनाउने भन्दै करोडौँको गाडी चढ्ने र राज्य कोषमा समेत दाबी गर्ने हैसियत बनाए ।
उनीहरूले राज्यका निकायहरूलाई छलेर र पारदर्शी हिसाब नदिई काम गर्दा पनि उल्टै ’भगवान्’ मान्ने समूहको आडमा राज्यलाई नै चुनौती दिए, जहाँ प्रश्न उठाउनेलाई तिनै ’भाइरल जत्था’ ले लखेट्ने काम गरे ।
यति मात्र होइन, यिनै सामाजिक सञ्जालका ’भाइरल’ जत्थाले व्यवसायमा आगो लगाउने, सरकारी सम्पत्ति ध्वस्त पार्ने, पुरातात्त्विक र ऐतिहासिक सम्पदामा क्षति पु¥याउने, प्रहरी चौकी जलाउने र मानिसलाई घिसारी–घिसारी मार्ने जस्ता जघन्य अपराधलाई समेत सामाजिक सञ्जालमा ‘जायज’ ठह¥याउँदै उत्सव मनाए ।
यो सबै बितेका सरकारहरूले दिएको छुट र मौनताको उपज हो । यस्तो घृणित रूप देखिएला भन्ने कल्पनासमेत गरिएको थिएन । आज तिनै अराजक शैली र भाइरल संस्कृतिले समाजलाई यति गाँजेको छ कि, कुनै पार्टीको सिद्धान्त वा देश बनाउने ठोस योजना बिना केवल सामाजिक सञ्जालको फलोअर्स र ‘हामी नयाँ हौं’ भन्ने नाराका भरमा संसदीय निर्वाचन जितेर नीति निर्माण तहमा पुग्ने अवस्था आयो ।
आज नयाँ भनिएका ९९ प्रतिशत सांसदहरूलाई हेर्ने हो भने उनीहरूसँग न कुनै ऐतिहासिक पृष्ठभूमि छ, न त कुनै कामको अनुभव; उनीहरूसँग थियो त केवल सामाजिक सञ्जालमा फलो गर्ने अबौद्धिक जमातको बल ।
परिणामस्वरूप, देशको नीति निर्माण तहमा बसेकाहरूले आज मनपरी गरिरहेका छन् । सामान्य परिवारको बिजुलीको बिलमा कर थपिँदा होस्, सानासाना विद्यार्थी वा अस्पतालका बिरामीलाई कर लगाउँदा होस्, वा संसद्को रोस्टमबाटै प्रधानमन्त्रीले सीमासम्बन्धी गैरजिम्मेवार तरिकाले संवेदनशील कुरा गर्दा होस्, यी सबै कार्यमा सामाजिक सञ्जालका ‘भाइरल फलोअर्स’ ले प्रशंसा नै गरिरहेका छन् ।
अर्थमन्त्रीले गैरकानुनी तबरले करका दर हेरफेर गर्दा वा प्रश्न गर्नेलाई ‘पुराना फाइल खोल्दिन्छु’ भन्दै धम्काउँदा, गृहमन्त्रीले सफाई नपाउँदै पुनः नियुक्ति पाउँदा साथै विधिको शासन गर्नुपर्नेमा भौतिक पूर्वाधार मन्त्रीले अराजक शैलीमा ठेकदारको खुट्टा भाँच्न आदेश दिँदा समेत सोही भाइरल जत्थाले जयजयकार गरिरहेको छ ।
यस्तो डरलाग्दो माहोल छ कि, विद्वान र जानकारहरू यी भाइरल जत्थाको अपमान र धम्कीका कारण चुइक्क बोल्न सक्ने अवस्थामा छैनन् । सञ्जालमा अलिकति मात्रै सङ्केत गर्दा पनि यति धेरै अपमान र धम्कीको भाषा आउँछ कि सामान्य मानिसले त्यसलाई पचाउनै सक्दैन ।
नेपालले इतिहासमा राणा शासन, पञ्चायत, माओवादी द्वन्द्व र जेनजी विध्वंसको पीडा भोगेको छ । यदि अहिलेको यो डिजिटल अराजकतालाई समयमै नियन्त्रण गरिएन भने देश थप गम्भीर भुमरीमा फस्ने निश्चित छ ।
बेलैमा सञ्जालको यो बिरामीलाई निको पार्न नसके, गलतलाई गलत र सहीलाई सही भन्न नसके, यो उग्र राष्ट्रवादले कतै देशलाई तानाशाही वा कुनै ‘हिटलर’ को बाटोमा त डो¥याउने होइन ?
यस्तै शैलीमा देश चल्दै जाने हो र ‘अभियन्ता’ नामधारी अराजक पात्रहरूले शासन सञ्चालनलाई प्रभावित गरिरहने हो भने, नेपालजस्तो संवेदनशील भू–राजनीतिक अवस्था भएको देश एकदिन थप अप्ठ्यारो परिस्थितिमा धकेलिनेछ ।
राज्यका निकायहरूले आफ्नो कर्तव्य बिर्सिएर सधैँ मौन बसिरहने हो भने, नेपालले अर्को ठूलो धक्का बेहोर्नुपर्ने दिन नआउला भन्न सकिन्न । अबको आवश्यकता ‘भाइरल’ को भ्रमबाट बाहिर निस्केर तर्क, तथ्य र अनुशासनमा आधारित समाजको निर्माण गर्नु हो ।
अन्यथा, भीडतन्त्रले जन्माएको यो उन्मत्त समाजले देशको लोकतन्त्र, स्थायित्व र भविष्यलाई अन्धकारतर्फ धकेल्ने निश्चित छ ।