© 2026
जनकपुरधाम । जनकपुरधामस्थित रामजानकी बहुउद्देश्यीय रङ्गशालामा सञ्चालित निको कप महिला टि-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई पराजित गर्दै कोसी प्रदेशले दोस्रो जित हासिल गरेको छ ।
वर्षाका कारण प्रभावित खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित पाँच ओभरमा पाँच विकेट गुमाएर १८ रनको योगफल बनायो । लुम्बिनीका कुनै पनि ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन् ।
लुम्बिनीलाई कम रनमा समेट्न कोशिका रिया शर्मा र रुबिना क्षेत्रीले समान दुई दुई विकेट हात पारे । उन्नाइस रनको झिनो लक्ष्य लिएर मैदान प्रवेश गरेको कोसीले तीन ओभरमा विना कुनै क्षति लक्ष्य भेटायो । कोशिका लागि काजल श्रेष्ठ र अप्सरी बेगमले अविजित १९ रनको साझेदारी गर्दै टिमलाई महत्त्वपूर्ण जित दिलाएका हुन् ।
यो जितसँगै कोसी दुई खेलबाट चार अङ्क जोड्दै शीर्ष स्थानमा छ । यसअघि शनिबार भएको उद्घाटन खेलमा कोसीले मधेस प्रदेशलाई २० रनले पराजित गरेको थियो । आजै हुने दोस्रो खेलमा मधेस र कर्णाली प्रदेशबिच प्रतिस्पर्धा हुनेछ ।
मधेस खेलकुद परिषद्का सदस्य सचिव शिवजीप्रसाद गुप्ताका अनुसार प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेस खेलकुद परिषद् तथा नेपाल खेलकुद महासङ्घको संयोजनामा सुरु भएको प्रतियोगितामा सात प्रदेश र दुई विभागीय टिम आर्मी र एपिएफ गरी नौ वटा टिमले सहभागिता जनाएका छन् ।
प्रतियोगिता यही असार १४ गतेसम्म जनकपुरधाम र वीरगन्जमा सञ्चालन हुनेछ ।