© 2026
पाल्पा ।
स्थानीयवासीले परम्परागत रूपमा गर्दै आएको दालचिनी र तेजपात खेतीबाट राम्रो आम्दानी गर्न थालेपछि पाल्पा रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ सत्यवतीको खुर्साने गाउँ नै हराभरा भएको छ ।
खेतबारी, खरबारी, कान्ला, भिर पाखा र डाँडाकाँडासम्म फैलिएका दालचिनी र तेजपातका हरिया रुखहरूले खुर्साने गाउँको मुहार नै फेरिदिएको छ । कुनै समय सामान्य ग्रामीण बस्तीका रूपमा चिनिने खुर्साने आज दालचिनी र तेजपात उत्पादनको नमुना गाउँका रूपमा परिचित बनेको छ ।
यहाँका बासिन्दाले पुस्तौँदेखि गर्दै आएको दालचिनी र तेजपात खेती अहिले गाउँको मुख्य आयस्रोत बनेको छ । यही खेतीबाट प्राप्त आम्दानीले गाउँका धेरै परिवारको जीवनस्तर उकासिएको छ भने वैदेशिक रोजगारी र बसाइसराइको बाध्यता पनि कम भएको छ ।
स्थानीय कृषकहरूले दालचिनी र तेजपातबाट वार्षिक न्यूनतम ५० हजारदेखि ५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । अन्यत्र बाझो रहने जमिनमा समेत दालचिनी रोपेर आम्दानी गर्न सकिने भएकाले यसको आकर्षण बढ्दै गएको हो । स्थानीय कृषक रामबहादुर रेश्मी मगर भन्छन्, “मेरो कुनै जागिर वा अन्य व्यापार छैन । बाझिएका खेतबारी र भिर पाखामा दालचिनी लगाएर मात्रै वर्षमा करिब दुई लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको छु ।”
दालचिनी र तेजपात खेतीमा धेरै लगानी आवश्यक नपर्ने, वन्यजन्तुले समेत खासै क्षति नगर्ने र श्रम पनि तुलनात्मक रूपमा कम लाग्ने भएकाले यस क्षेत्रका अधिकांश परिवारको मुख्य पेसा यही बनेको छ ।
स्थानीय खिमबहादुर गाँहा भन्छन्, “हाम्रो बुढेसकालको सहारा, आम्दानी र पेन्सन नै दालचिनी तथा तेजपात खेती हो । यही कारण लामो समयदेखि गाउँका मानिसहरू बसाइसराइ गरेर बाहिर जानुपर्ने अवस्था आएको छैन ।” यस क्षेत्रमा उत्पादित दालचिनी र तेजपातको बजार माग पनि राम्रो रहेको गाँहा बताउँछन् ।
व्यापारीहरू खरिदका लागि गाउँमै पुग्ने गरेका छन् भने केहीले सङ्कलन केन्द्र स्थापना गरेर उत्पादन सङ्कलन गर्दै आएका छन् । यहाँबाट सङ्कलित दालचिनी र तेजपात सुनौली नाका हुँदै भारत निर्यात हुने गरेको छ ।
तेजपात दालचिनी व्यापारी लेखनाथ घिमिरेका अनुसार हाल कृषकको घरमै पुगेर दालचिनीको बोक्रा प्रतिकिलो ११७ रुपैयाँ र तेजपात प्रतिकिलो ७० रुपैयाँमा खरिद भइरहेको छ ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिकाका वडा नं. ६, ७ र ८ तथा तिनाउ गाउँपालिकाका वडा नं. २, ३, ४ र ५ मा परम्परागत रूपमा दालचिनी र तेजपात खेती हुँदै आएको छ । यस व्यवसायलाई थप व्यवस्थित बनाउन डिभिजन वन कार्यालय पाल्पाले कृषकहरूसँग छलफल गर्दै समस्याहरूको अध्ययन गरेको छ ।
डिभिजन वन कार्यालय पाल्पाका वरिष्ठ वन अधिकृत खिलबहादुर तामाङका अनुसार कृषकहरूले बजार व्यवस्थापन र समय सापेक्ष मूल्य निर्धारणको माग गरेका छन् । “कृषकका माग सम्बोधन गर्न कार्यालयले आवश्यक सहजीकरण गर्नेछ,” उनले बताए । डिभिजन वन कार्यालयका अनुसार पाल्पाबाट वार्षिक करिब १५ लाख केजी दालचिनी र तेजपातको कारोबार हुने गरेको छ ।
दालचिनी र तेजपात खेतीका कारण सत्यवतीको खुर्साने गाउँ पाल्पाकै नमुना कृषि गाउँका रूपमा परिचित बनेको छ ।