© 2026
बुटवल । सामान्य प्रविधिको प्रयोगबाट तयार गरिएका जाली नोटको कारोबार नियन्त्रण गर्न बैङ्क तथा वित्तीय संस्था, सुरक्षा निकाय र सर्वसाधारणबिच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन् ।
नेपाल राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागले मङ्गलबार बुटवलमा आयोजना गरेको वित्तीय सचेतना कार्यक्रममा सहभागीहरूले जाली नोटको कारोबारले सर्वसाधारणसँगै वित्तीय प्रणालीमा समेत जोखिम निम्त्याउन सक्ने भन्दै यसको नियन्त्रणका लागि नोटको पहिचानदेखि शङ्कास्पद कारोबारको सूचना दिने व्यवस्थासम्मलाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।
नेपाल राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागका निर्देशक सुदीप फुयाँलले जाली नोटलाई केवल आपराधिक गतिविधिका रूपमा मात्र नहेरी वित्तीय प्रणालीसँग जोडिएको विषयका रूपमा बुझ्नुपर्ने बताए । नोटको विश्वसनीयता कायम राख्न केन्द्रीय बैङ्क, बैङ्क तथा वित्तीय संस्था, प्रहरी र सर्वसाधारणको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ ।
सिद्धार्थनगर शाखाकी निर्देशक नविना ढकालले बैङ्किङ कारोबार बढ्दै गएको अवस्थामा नगद कारोबारमा समेत सावधानी आवश्यक रहेको बताइन् । उनले सर्वसाधारणले नोटको सुरक्षा विशेषता बुझेर कारोबार गर्ने बानी विकास गर्न सके जाली नोटको जोखिम न्यूनीकरण गर्न सकिने उल्लेख गरिन् ।
कार्यक्रममा राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागका सहायक निर्देशक रुकु पन्थीले जाली नोट कसरी तयार हुन्छ, सक्कली र नक्कली नोट छुट्टाउने आधार के हुन् तथा जाली नोट भेटिएमा कहाँ र कसरी जानकारी गराउने भन्नेबारे प्रस्तुति दिएकी थिइन् । उनले नोटमा प्रयोग हुने सुरक्षा विशेषता तथा त्यसको छपाइ प्रक्रियाबारे जानकारी दिँदै सर्वसाधारणले सामान्य सावधानी अपनाउँदा पनि धेरैजसो जाली नोट पहिचान गर्न सकिने बताइन् ।
उनका अनुसार कारोबारका क्रममा शङ्का लागेका नोटलाई पुनः अरू व्यक्तिलाई चलाउनेभन्दा सम्बन्धित बैङ्क वा सुरक्षा निकायलाई जानकारी गराउनु आवश्यक हुन्छ । जाली नोटको कारोबारमा अन्जानवश संलग्न हुन सक्ने जोखिमबाट बच्न नोट लिँदा र दिँदा सावधानी अपनाउनुपर्ने उनले बताइन् ।
मुद्रा व्यवस्थापन विभागकी उपनिर्देशक शर्मिला श्रेष्ठले जाली नोटसम्बन्धी जानकारी बैंकिङ क्षेत्रका कर्मचारी र सर्वसाधारण दुवैका लागि आवश्यक रहेको बताइन् । उनले नोटको पहिचान गर्ने व्यावहारिक ज्ञान समुदायस्तरसम्म पु¥याउन यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा प्रहरी निरीक्षक चन्द्रकिशोर साहले जाली नोटको कारोबारमा हुने कानुनी कारबाही तथा प्रहरी अनुसन्धान प्रक्रियाबारे जानकारी दिए । शङ्कास्पद नोट वा कारोबार भेटिएमा त्यसलाई लुकाउने वा पुनः चलनमा ल्याउनेभन्दा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन उनले आग्रह गरे । प्रहरी अनुसन्धानका क्रममा नोटको स्रोत, कारोबारमा संलग्न व्यक्ति र उद्देश्य पहिचान गरिने उनले बताए ।
कार्यक्रममा बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधि, उद्योगी, व्यवसायी र विद्यार्थीको सहभागिता थियो । सहभागीलाई सक्कली तथा जाली नोटका नमुना देखाउँदै नोटको सुरक्षा विशेषता पहिचान गर्ने व्यावहारिक जानकारीसमेत दिइएको थियो ।
