© 2026
बुटवल । यातायात मजदुर तथा व्यवसायी भलाई कोष बुटवलले उत्कृष्ट कार्य गर्ने १८ जना कर्मचारीलाई नगदसहित सम्मान गरेको छ । कोषले तीज मिलन कार्यक्रमको अवसर पारेर सोमबार कर्मचारीलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा हुमलाल फुल्लेल, लालकाजी गुरुङ, चेतबहादुर गुरुङ, किशोर क्षेत्री, ओमबहादुर थापा, पुरुषोत्तम भण्डारी, इन्द्रलाल खड्गी, पृथ्वीराज कार्की, विजयबहादुर थापा क्षेत्री, युवराज नेपाल, कृष्णप्रसाद श्रेष्ठ, पदमबहादुर क्षेत्री, टोपबहादुर झँक्री, राजेन्द्र फुल्लेल, विदुरकुमार रेग्मी, राजु खड्का, नामबहादुर पुन र भद्रबहादुर खड्का रहेका छन् ।
कार्यक्रममा कोषका निवर्तमान अध्यक्ष नारायणप्रसाद भट्टराईले यातायात क्षेत्रमा हुने दुर्घटनाबाट मजदुर तथा व्यवसायीले व्यहोर्नु पर्ने ठुलो आर्थिक क्षति न्यूनीकरणमा कोषले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । दुर्घटनापछि उपचार, राहत तथा अन्य प्रयोजनमा ठुलो रकम आवश्यक पर्ने भएकाले कोषमा आबद्ध हुनु यातायात व्यवसायी तथा मजदुरका लागि आर्थिक सुरक्षाको आधार बन्ने उनको भनाइ थियो ।
कोषका अध्यक्ष दिनेश फुल्लेलले यातायात क्षेत्रमा काम गर्ने व्यवसायी तथा मजदुरलाई सम्भावित आर्थिक क्षतिबाट जोगाउन कोषको भूमिका अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने बताए । उनले दुर्घटनाबाट हुने आर्थिक जोखिम न्यूनीकरणका लागि सबै सवारी साधनलाई कोषमा आबद्ध गराउन व्यवसायीलाई आग्रह गरे ।
“दुर्घटना कहिले र कहाँ हुन्छ भन्ने निश्चित हुँदैन । दुर्घटनाबाट हुने आर्थिक क्षतिबाट सुरक्षित रहन सबै सवारीलाई कोषको संरक्षणमा ल्याउन आवश्यक छ,” उनले भने । कोषका सल्लाहकार कृष्णप्रसाद बेलबासेले यातायात क्षेत्रसँग जोडिएका श्रमिक तथा व्यवसायीको हितमा कोषले गर्दै आएको कामलाई निरन्तरता दिनुपर्ने बताए । उनले संस्थाको प्रभावकारिता कर्मचारीको सेवा, पारदर्शिता र सदस्यप्रतिको जिम्मेवारीमा निर्भर रहने धारणा राखे ।
कोषका उपाध्यक्ष छविलाल थापाले कर्मचारीको कामको मूल्याङ्कन र सम्मानले संस्थाप्रति उनीहरूको जिम्मेवारी थप बढाउने बताए । उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने परम्पराले अन्य कर्मचारीलाई पनि थप मेहनत गर्न प्रेरणा मिल्ने उनको भनाइ थियो ।
कार्यवाहक महासचिव विजेश न्यौपानेले कोषको सेवा प्रभावकारी बनाउन कर्मचारीको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले कर्मचारीको योगदानलाई संस्थागत रूपमा सम्मान गर्दै सेवा प्रवाहमा थप सुधार गर्दै लैजानुपर्नेमा जोड दिए ।
कोषका कार्यालय प्रमुख ठानेश्वर बस्यालले कर्मचारीलाई गरिएको सम्मानले कार्यसम्पादनमा थप उत्साह बढ्ने बताए । उनले कोषमा आबद्ध सदस्यलाई प्रभावकारी सेवा उपलब्ध गराउन कर्मचारीले जिम्मेवारीपूर्वक काम गर्दै आएको उल्लेख गरे ।
कार्यक्रममा तीजको सांस्कृतिक कार्यक्रमसमेत गरिएको थियो । कोषले कर्मचारीको योगदानको कदर गर्दै उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई सम्मान गरेको जनाएको छ ।