Butwal Today

हात्तीको आक्रमणबाट बर्दियामा ५ वर्षमा ७ जनाको मृत्यु

९ भाद्र २०८३, मंगलवार
अ+
अ-

बर्दिया । बर्दियामा पछिल्लो पाँच वर्षमा हात्तीको आक्रमणबाट सातजनाको मृत्यु भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज तथा सामुदायिक वन क्षेत्रमा हात्तीको आक्रमणबाट सातजनाको मृत्यु भएको हो । सोही अवधिमा प्राकृतिक तथा अन्य कारणले सातवटा हात्तीको समेत मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

हात्ती जमिनमा बस्ने वन्यजन्तुमध्ये सबैभन्दा ठूलो जनावर हो ।  पछिल्लो समय बढ्दै गएको विकास, सहरीकरण तथा घट्दै गएको वन क्षेत्र र बासस्थानका कारण हात्तीको अस्तित्वसमेत संकटमा पर्दै गएको छ । हात्तीको बासस्थान र आहारा घट्दै जाँदा मानव–हात्ती द्वन्द्व बढ्ने जोखिमसमेत बढ्दै गएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा। अशोक रामका अनुसार हात्ती खानेकुराको खोजीमा टाढाटाढासम्म जाने गर्छ । हात्तीले पुर्खादेखि प्रयोग गर्दै आएको परम्परागत मार्ग नै पछिल्लो पुस्ताले पनि प्रयोग गर्ने भएकाले त्यस्ता मार्गमा मानव बस्ती विस्तार हुँदा द्वन्द्वको अवस्था सिर्जना हुने गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “हात्तीको पुर्खाले हिँडेको जुन बाटो छ, त्यही बाटोबाट हात्ती हिँड्ने गर्छ । तर, बढ्दो सहरीकरण, बसाइँसराइ र हात्तीको आवतजावत हुने मार्गमा मानव बस्ती बसेसँगै हात्तीले घर भत्काएर हिँड्ने गरेका छन् । हात्ती आफ्नो स्वाभाविक बाटोबाट हिँड्न खोज्छ । तर, मानिसले हात्तीलाई धपाउन खोज्दा आक्रमणको जोखिम बढ्ने गरेको छ ।”

बर्दिया राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९र८० मा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु र तीनजना घाइते भएका थिए । आर्थिक वर्ष २०८० र ८१ मा पाँचजना घाइते भएका थिए । आर्थिक वर्ष २०८१र८२ मा दुईजनाको मृत्यु र तीनजना घाइते भएका थिए भने आर्थिक वर्ष २०८२ र ८३ मा तीनजनाको मृत्यु र तीनजना घाइते भएका छन् ।

मानव–हात्ती द्वन्द्वका कारण आर्थिक वर्ष २०७९ र ८० मा एउटा, आर्थिक वर्ष २०८१ र ८२ मा तीनवटा र आर्थिक वर्ष २०८२ र ८३ मा तीनवटा हात्तीको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जको तथ्यांकमा उल्लेख छ ।

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि हात्ती हिँड्ने मार्ग पहिचान गरी ती मार्गलाई खुला राख्नुपर्ने संरक्षणकर्मीहरूको भनाइ छ । हात्तीको बासस्थान संरक्षण तथा व्यवस्थापन गर्नुका साथै स्थानीय समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको उनीहरू बताउँछन् ।

बर्दियाको ठाकुरबाबा नगरपालिकाका ७८ वर्षीय स्थानीय जोगीराम थारूले पहिलेको तुलनामा मानव बस्ती विस्तार भएकाले वन्यजन्तुको आवतजावतमा समस्या बढेको बताए ।

उनले भने, “पहिले मानिसको बस्ती कम थियो । जंगली जनावरलाई आवतजावत गर्न सहज थियो । अहिले जंगल वरपर मानव बस्ती बढेकाले मानिस र जंगली जनावर दुवैलाई हिँडडुल गर्न कठिन भएको छ ।”

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि हात्तीको गतिविधि पहिचान गरी समयमै सूचना दिने प्रणाली विकास गर्नुपर्ने उनको भनाइ छ । हात्तीको आवतजावत बढी हुने क्षेत्रमा अर्ली वार्निङ सिस्टम, साइरनलगायत पूर्वसूचना प्रणाली जडान गरेर स्थानीय समुदायलाई सुरक्षित राख्न सकिने उनले बताए ।

मानव जीवन अमूल्य भएकाले हात्ती संरक्षणसँगै मानव सुरक्षालाई पनि प्राथमिकतामा राखेर काम गर्नुपर्ने देखिन्छ । मानव–हात्ती द्वन्द्वबाट हुने मानवीय क्षतिलाई शून्यमा झार्ने लक्ष्यका साथ हात्तीको बासस्थान तथा परम्परागत आवतजावतका मार्ग संरक्षण, स्थानीय समुदायमा जनचेतना अभिवृद्धि र प्रभावकारी पूर्वसूचना प्रणालीको विकास गर्न आवश्यक देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?