Butwal Today

सल्यानमा घरको भित्तो भत्किँदा २ बाख्रा मरे, एउटा घाइते

९ भाद्र २०८३, मंगलवार
अ+
अ-

सल्यान । सल्यानमा मंगलबार बिहान एक किसानको कच्ची घरको भित्तो भत्किँदा दुई बाख्रा मरेका छन् भने एउटा बाख्रा घाइते भएको छ । छत्रेश्वरी गाउँपालिका ५, काप्रेचौरका किसान युवराज कुँवरको घरको बाख्रा बाँध्ने कोठाको संरचना भत्किँदा बाख्राहरू च्यापिएका हुन् ।

मंगलबार बिहान करिब ४ बजे कुँवरको दुई तले कच्ची घरको बाख्रा राख्ने कोठाको बलो भाँचिएपछि भित्तो भत्किएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ढुङ्गा र माटोले बनेको तथा टिनले छाएको घरको संरचना एक्कासि भत्किँदा कोठाभित्र बाँधेर राखिएका बाख्राहरू बाहिर निस्कन नपाई च्यापिएका थिए ।

घटनामा दुई जीउ बाख्रा मरेको  र एउटा बाख्रा सामान्य घाइते भएको प्रहरीले जनाएको छ । उक्त घरको बाख्रा बाँध्ने भागमा क्षति पुगेको र घटनाबाट भएको सम्पूर्ण भौतिक तथा आर्थिक क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको बताइएको छ ।

ग्रामीण क्षेत्रमा ढुङ्गा, माटो र काठको संरचनामा बनेका पुराना कच्ची घरहरू समयसँगै कमजोर बन्दै जाने तथा लगातारको वर्षा र अन्य प्राकृतिक प्रभावका कारण जोखिम बढ्ने गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले घटनामा कुनै पनि मानवीय क्षति नभएको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?